
काठमाडौं । नेकपा एमालेले वरिष्ठ उपाध्यक्षसहित ३४९ जना केन्द्रीय सदस्यहरुको जिम्मेवारी हेरफेर गरेको छ । पार्टीको सचिवालय बैठकले प्रदेश, जिल्ला र पालिकाहरूमा इन्चार्ज तोक्दै केहि नेताहरुको जिम्मेवारी हेरफेर गरेको हो ।
एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ‘समग्र नेतृत्व’को जिम्मेवारी तोकिएको अन्तरपार्टी निर्देशन जारी गरेको छ ।
जसमा पदाधिकारीमा रहेका पूर्व माओवादी पृष्ठभूमिका नेता उपाध्यक्ष रामबहादुर थापा बादललाई कुटनीतिक सम्बन्ध र राष्ट्रिय सुरक्षाको जिम्मेवारी दिइएको छ ।
माओवादी जनयुद्धका कमाण्डर रहेका बादलले सुरक्षाको जिम्मेवारी पाएका हुन् । यसैगरी पूर्व माओवादी नेता रहेका सचिव टोपबहादुर रायमाझीको भने कुनै जिम्मेवारी छैन । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका रायमाझीलाई एमालेले सचिव सहित पार्टी जिम्मेवारीबाट निलम्बन गरेको छ ।
अर्घाखाँचीबाट चुनाव जितेका उनको सांसद पद समेत निलम्बनमा छ । अर्का सचिव लेखराज भट्टलाई कर्णालीको ईन्चार्ज बनाईएको छ । पूर्व माओवादी नेता भट्टलाई सुदूरपश्चिमको ईन्चार्जबाट हटाईएको छ । यो ठाउँमा छविलाल विश्वकर्मालाई जिम्मेवारी दिईएको छ ।
सुदुरपश्चिमको जिम्मेवारीमा रहँदा भट्टले माओवादी अध्यक्ष प्रचण्डलाई घरमै बोलाएर भेट गरेपछी एमालेभित्र आलोचना भएको थियो । त्यसैको परिणाम भट्टलाई कर्णाली पठाईएको हुनसक्ने एमाले बृत्तमा चर्चा छ ।
त्यस्तै एमाले स्थायी कमिटी सदस्य रहेका मणीचन्द्र थापालाई पनि जिम्मेवारी दिईएको छैन । उनी पनि पूर्व माओवादी नेता हुन् । एमालेले पठाएको अन्तर पार्टी सर्कुलरमा उनको नाम छ । तर, जिम्मेवारीको ठाउँमा ‘बिदा’ भनेर लेखिएको छ ।
एमाले नेता रुपनारायण श्रेष्ठलाई पनि जिम्मेवारीको ठाउँमा विदा भनिएको छ । तर के प्रयोजनको बिदा भन्ने खुलाईएको छैन ।
अन्य केही सदस्यको भने सर्कुलरमा ‘विरामी बिदा’ भनेरै किटान गरिएको छ । मैनाकुमारी भण्डारी र प्रमोद नारायण यादवलाई विरामी विदा दिईएको छ ।
त्यसैगरी माओवादी पृष्ठभूमिका ज्वालाकुमारी शाहलाई सर्लाहीको जिम्मा दिइएको छ भने माधव शर्मालाई बुटवल उपमहानगरपालिकाको मात्रै जिम्मेवारी तोकिएको छ ।











