
काठमाडौं । कोशी प्रदेश सरकारले प्रदेश नामांकनको विरोधमा उत्रिएका पहिचान पक्षधरसँग वार्ताका लागि समिति गठन गरेको छ ।
माओवादी केन्द्र जसपाले समर्थन फिर्ता लिँदै सरकार छाडेपछि अल्पमतमा परेका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पहिचान पक्षधरसँग वार्ता गर्न तीन सदस्यीय समिति गठन गरेका हुन् ।
यसअघि सरकारमा सहभागी माओवादी केन्द्र र जसपाले वार्ताबाट समस्या समाधान गर्न र वार्ता समिति बनाएर अगाडि बढ्न आग्रह गर्दा कार्कीले अस्वीकार गर्दै आएका थिए । तर, सरकार ढल्ने निश्चित भएसँगै उनले पहिचान पक्षधरसँग छलफल गर्न समिति बनाएका हुन् ।
आज बुधबार बसेको मन्त्रिपरिषद बैठकले तीन सदस्यीय वार्ता टोली गठन गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिए ।
उनका अनुसार ऊर्जा मन्त्री तिलकुमार मेन्याङ्वो नेतृत्वको समितिमा सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी र सरकारका प्रवक्ता तथा कृषि मन्त्री भक्तिप्रसाद सिटौला सदस्य छन् ।
गत फागुन १७ गते प्रदेशसभा बैठकले प्रदेश १ को नाम ‘कोशी’ राख्ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित गरेपछि त्यसको विरोधमा पहिचान पक्षधरहरु आन्दोलनमा छन् । आन्दोलनकै क्रममा चैत १० गते पहिचानवादी नेता पदम लिम्बुको मृत्यु भएको थियो ।











