काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतसँग सीमा समस्या समाधानका लागि भूमि सट्टा गर्ने प्रस्ताव आफ्नो नभएको बताएका छन् । बुधबार राष्ट्रियसभाको बैठकमा भारत भ्रमणबारे उठेका प्रश्नको जवाफ दिनेक्रममा प्रधानमन्त्री प्रचण्डले भारतसँग सीमा समस्या समाधानका लागि भूमि सट्टा गर्ने प्रस्ताव अहिले अहिले विरोध गर्ने नेताहरूबाटै निर्णय भएको बताए ।

‘साथीहरूले भन्नुभयो सट्टापट्टा । मैले भनेकै होइन, मैले विगतदेखि यो तर्क पनि छ भनेँ । मैले अहिले ठ्याक्कै प्रमाण त देखाउन सकिनँ । सायद समय आउँछ, प्रमाण पनि देखाउँछु’ प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिले जोजो पार्टी नेताहरूले यो सट्टा भन्ने शब्द आँ पनि गर्नुहुन्थेन भन्नुभएको छ । उहाँहरूले सट्टाको निर्णय गराउनुभएको छ । कुनै दिन समय आउला । तर, मैले राष्ट्रको हितको पक्षमा आफ्नो विवेकले भ्याएसम्म गरेँ भन्नेमा गर्वका साथ खुशी छु ।’
प्रधानमन्त्री प्रचण्डले ईपीजीबारे माहौल भइराखेको बेलामा ख्यात्र्याक्क होला भन्ने ठानेर ‘हाइ लेवल’मा आफूले कुरा नगरेको प्रष्ट पार्दै अरू लेवलमा कुरा गर्दा विश्वासको वातावरण राम्रो बनाएपछि कुरा अगाडि बढाउन सुझाव आएको बताए ।











