काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादीको तर्फबाट बुधबारदेखि बहस सुरु भएको छ । थुनछेक सम्बन्धी बहसको क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईमाथि किन अनुसन्धान नभएको भन्दै प्रश्न उठेको छ ।

यस प्रकरणमा प्रहरीले मुख्य आरोपीमध्ये एक मानेको सानु भण्डारीका कानून व्यवसायी विनोद शर्माले शरणार्थी प्रकरणको सुरुवातमा गृहसचिव रहेका प्रेमकुमार राईविरुद्ध किन अनुसन्धान नभएको भन्दै प्रश्न गरेका हुन् ।
उनले केही आरोपीलाई बयानमा पोलिएकै आधारमा प्रतिवादी बनाइएको तर कसैमाथि प्रारम्भिक अनुसन्धान समेत नगरिएको भन्दै प्रेम राईमाथि अनुसन्धान नभएकामा प्रश्न उठाएका हुन् । अधिवक्ता शर्माले भने, ‘बयानमा प्रेमकुमार राईको गाडीको डिकीमा लगेर पैसा हालिदिएको भन्ने आएको छ, त्यो पनि सबैभन्दा संवेदनशील गृह मन्त्रालय जस्तो ठाउँ हो, दिएको हो कि होइन, खोइ त्यो विषयमा अनुसन्धान ?’
उनले गृह मन्त्रालयमा त्यसबेलाको सीसीटीभी हुन सक्ने बताउँदै भने, ‘तर, श्रीमान् यो विषयमा किन अनुसन्धान भएन ?’ उस्तै किसिमले अरु व्यक्तिको नाम लिनेवित्तिकै प्रतिवादी बनाइएको बताउँदै उनले भने, ‘श्रीमान् कुखुरोको चल्लो हो र ? चल्लो भए थाहा हुन्नथ्यो होला । तर, यो त हात्ती चोरी भए जस्तो हो । तर, खोइ किन अनुसन्धान भएन ?’
यो बहस काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा भइरहेको हो। यस प्रकरणमा सरकारीले वकिलको वहस सकिएपछि प्रतिवादीको तर्फबाट बहस जारी छ । सरकारी वकिलले आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने माग गरेका थिए ।











