Logo
Logo

कोशीमा मध्यावधिमा जाने अवस्था आउँदैन : उपेन्द्र यादव


1.1k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले कोशी प्रदेशमा नयाँ सरकार बन्ने बताएका छन् ।
प्रदेश सरबारबाट नेकपा माओवादी केन्द्र र जसपा बाहिरिएपछि कोशीमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ३० दिनभित्र विश्वासको मत लिनुपर्ने छ । तर, एमाले नेतृत्वको सरकारलाई बहुमत देखाउन चुनौती छ ।

नयाँ सरकार बनाउन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीलाई पनि कठिन छ । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ । सरकारमा रहेका दल एमालेसँग ४० र राप्रपासँग ६ जना सांसद छन् ।

नयाँ सरकार गठनको तयारीमा रहेका कांग्रेसकाे २९, माओवादी केन्द्र १२, एकीकृत समाजवादी ४ र जसपासँग १ जनामात्र सांसद छन् । दुवै पक्षसँग ४६/४६ सांसदको समर्थन छ ।

माओवादी केन्द्रबाट निर्वाचित भएका बाबुराम गौतम सभामुख छन् । उनी तटस्थ भूमिकामा छन् । यस्तो अवस्थामा कोशीमा अहिलेकै सरकार कायम रहन्छ वा सरकार बन्न नसकेर प्रदेशसभा विघटन हुन्छ भन्ने आशंका छ ।

तर, बुधबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै जसपा अध्यक्ष उपेन्द्र यादवले कोशीमा सहजरुपमा नयाँ सरकार बन्ने दाबी गर्दै भने, ‘प्रदेश १ मा नयाँ सरकार बन्छ । मध्यावधिमा जाने अवस्था आउँदैन्, त्यस खालको वातावरण बन्न दिइनेछैन ।’

प्रतिक्रिया दिनुहोस्