
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले तोकिएको लेबी नबुझाए विधान अधिवेशनमा प्रतिनिधि बन्न नपाउने बताएको छ । बुधबार पार्टी कार्यालयले पत्र नै काटेर २०७९ साउनदेखि ०८० असारसम्मको बाँकी लेबी बुझाउन केन्द्रीय नेताहरूलाई ताकेता गरेको हो ।
‘जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समिति सदस्य, राजनीतिक समिति सदस्य र केन्द्रीय सदस्यज्यूहरूले पार्टीले तोकेको लेबी २०७९ साउनदेखि २०८० असारसम्मको बाँकी रहेको लेबी रकम मिति २०८० असार ५ गतेसम्म बुझाउन अनुरोध गरिन्छ,’ पत्रमा भनिएको छ ।
जसपाले केन्द्रीय कार्यकारिणी समिति सदस्यका लागि एक हजार रुपैयाँ, राजनीतिक समिति सदस्यकालागि ७०० र केन्द्रीय सदस्यहरूका लागि ५०० रुपैयाँ मासिक लेबी तोकेको छ ।











