विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालले पनि ‘ग्रेटर नेपाल’को नक्सा निकाल्न सक्ने बताएका छन् । बिहीबार विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै भारतले नयाँ संसद भवनमा नेपाली भूमिसहितको ‘अखण्ड भारत’को नक्सा राखेको प्रशंगमा उनले यस्तो बताएका हुन् ।

नेपाली कांग्रेसका सांसद समेत रहेका उनले लिम्पियाधुरा, लिपुलेक नेपालकै भूमि भएको बताउँदै भने, ‘नेपालको हक अधिकार कसैले खोसेर लैजान सक्दैन, लान दिइँदैन ।’
महामन्त्री थापाले यसका निम्ति कुनै विकल्पबारे नेपालले सोच्न नहुने बताउँदै भने, ‘यदि कुनै अर्को देशले सांस्कृतिक नक्सा बनाएर अघि बढाउँदा, नेपालले पनि ग्रेटर नेपालको नक्सा बनाउने, यसबारे चिन्तन गर्ने, सोच राख्ने हक राख्छ । नेपालले हक र परिकल्पना प्रयोग गर्दै गर्दा भारतले चिन्ता गर्नु हुँदैन । भारतले सहजतापूर्वक ग्रहण गर्नुपर्छ ।’
संघ र प्रदेश सरकारमा अहिलेको दलीय गठबन्धनलाई अघि बढाउन कांग्रेस प्रतिवद्ध रहेको पनि उनले बताए ।
यस्तै, अर्को प्रशंगमा उनले कोशी प्रदेश सरकार सञ्चालनका लागि कांग्रेस सम्मिलित सरकारले जनतालाई परिणाम दिनेगरी काम गर्न सक्नुपर्ने बताए ।
प्रदेशमा कांग्रेस सम्मिलित बन्ने सरकारको कामले प्रदेशबासीका समस्या र निरासा चिर्न सक्नुपर्ने बताउँदै महामन्त्री थापाले भने, ‘अहिले जनतामा देखिएको निरासा चिर्नका लागि सरकारले काम गर्नुपर्नेछ । त्यो कामले जनतामा देखिएको निराशा बोलेर होइन कामले पूरा गर्न सक्नुपर्छ ।’











