Logo
Logo
नक्कली शरणार्थी प्रकरण

पाँच जना प्रतिवादीको थुनछेक बहस सकियो


1.8k
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी प्रकरणका पाँच जना प्रतिवादीको थुनछेक बहस सकिएको छ । बुधबारदेखि जिल्ला अदालत काठमाडौंले जारी थुनछेक बहसमा बिहीबार पाँच प्रतिवादीको थुनछेक बहस सकिएको हो ।

प्रहरीद्वारा ठगी प्रकरणका मुख्य योजनाकार भनिएका सानु भण्डारी र टंक गुरुङका वकिलले बिहीबार थुनछेक बहस सकेका छन् । त्यस्तै सन्देश शर्मा, सागर राई र इन्द्रजित राईको पनि थुनछेक बहस सकिएको छ ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन योजना बनाउने, नक्कली शरणार्थीबारे निर्णय गराउन गृहमन्त्रीदेखि गृह मन्त्रालयको संयन्त्रलाई प्रभावित पार्ने, सर्वसाधारणलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्ने प्रलोभनमा पारेर पैसा उठाउने, ‘हाइप्रोफाइल’लाई काम गरिदिएबापत बाँड्ने लगायतका काममा संलग्न रहेको सानु भण्डारीमाथि आरोप छ ।

यस्तै, पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राईमाथि भुटानी शरणार्थी समस्या समाधान गर्ने समिति बनाउनका लागि भूमिका खेलेको, उक्त समिति बनाइसकेपछि सानु भण्डारी र केशव दुलालसँग पैसा लिएको र उनीहरूसँग मिलेर काम गरेको सरकारी वकिल कार्यलयलको आरोप छ ।

थुनछेक बहसमा बिहीबार उनका तर्फबाट बालकृष्ण ढकाल, प्रेमबहादुर खत्री, दिलकुमारी राईलगायतका कानुन व्यवसायीले बहस गरेका थिए । यस्तै, सन्देश शर्मा, टंक गुरूङ र सागर राई पनि सानु भण्डारी र केशवसँग मिलेर नक्कली शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै सर्वसाधारणसँग पैसा उठाउने काममा संलग्न रहेको आरोप छ । केशवको पक्षमा बिहीबार वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस गरेका थिए ।

यस्तै, प्रतिवादी सागर राईका तर्फबाट अधिवक्ताहरू प्रकाश पौडेल, विनोद कार्की, सन्तोष प्रसाद भट्ट र इन्द्र पोखरेलले बहस गरेका थिए भने सन्देश शर्माको पक्षमा अधिवक्ताहरू यज्ञ खतिवडा, गोपालराज अर्याल, दिपकराज रेग्मी, सुशीला कार्की र मंगल महर्जनले बहस गरेका थिए । शुक्रबार (भोलि) बाँकी प्रतिवादीको तर्फबाट बहस हुनेछ ।

प्रतिक्रिया दिनुहोस्