Logo
Logo

‘सरकारकै संरक्षणमा हामीमाथि आक्रमण भइरहेको छ’


945
Shares

काठमाडौं । नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले राज्य पक्षकै संरक्षणमा आफ्ना नेता–कार्यकर्तामाथि आक्रमण भइरहेको भन्दै सरकारसँग जवाफ मागेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भट्टराईले पछिल्लो समय प्रदेश १ को नामकरणका सन्दर्भलाई लिएर एमालेका नेता तथा कार्यकर्तामाथि साङ्घातिक आक्रमण भइरहेको तर सरकारले आक्रमणमा संलग्नलाई नै संरक्षण गरेको आरोप लगाएका छन् ।

विगतमा मधेस क्षेत्रमा समेत नेकपा एमालेका सम्पूर्ण नेतृत्वलाई सिद्ध्याउने प्रयास भएको भन्दै अहिले त्यसरी नै प्रदेश १ क्षेत्रमा आक्रमण भइरहेको र मधेसकै प्रकृतिमा एमालेका नेतृत्व सिद्ध्याउने प्रयास भइरहेको भट्टराईको आरोप रहेको छ । 

सांसद भट्टराईले भने– ‘विगतमा पनि हाम्रा नेतृत्वलाई सामूहिक रूपमा सिद्ध्याउन खोजिएको थियो । तर, त्यो सफल हुन दिइएन । आज त्यसरी नै हाम्रा नेता तथा कार्यकर्तामाथि आक्रमण भईहरको छ । यसरी आक्रमणमा संलग्नलाई राज्यले नै संरक्षण गरिरहेको छ ।’

सांसद भट्टराईले प्रदेशको नामकरणका सन्दर्भ प्रदेशसभाको अधिकार क्षेत्रभित्र पर्ने भएकाले प्रदेशको निर्णयसँग केन्द्रीय नेतृत्वको कुनै ससम्बन्ध नरहेको बताए । साथै, प्रदेशको नामकरणमा चित्त  नबुझे वैधानिक तवरबाट नाम फेर्न सकिने वास्तविकतालाई बुझ्न आवश्यक रहेको भट्टराईको भनाइ रहेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रदेश १ मा आफ्ना नेताहरूमाथि भइरहेको आक्रमणबारे जवाफ मागेपछि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसद्मा जवाफ दिएका छन् । 

जवाफका क्रममा मन्त्री श्रेष्ठले सरकार शान्ति सुरक्षा कायम गर्न प्रतिबद्ध रहेको जानकारी गराएका छन् । साथै, संघीयताको रक्षाका लागि शान्तिपूर्ण रुपमा आफ्ना मतहरु राख्न मन्त्री श्रेष्ठले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्