Logo
Logo

पश्चिम नवलपरासीमा खुलेयाम तस्करी


2.8k
Shares

फाइल फोटो

भैरहवा । पश्चिम नवलपरासीमा तस्करी ब्यापक बढेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलेमतोमा तस्करी मौलाएको हो ।

नेपाल प्रहरी र सशस्त्रले यहाँ सादा पोसाक (घुमुवा) प्रहरी परिचालन गरेर असुली धन्दा मच्याइरहेका छन् । प्रहरीकै मिलेमतोमा तस्करी गरेर लैजाँदै गरेको एक ट्रक चिनी अघिल्लो महिना बरामद भएको थियो ।

जिल्लामा ट्रकका ट्रक अवैध सामान भारतबाट तस्करी भएर भित्रिने गरेको छ । मिलेमतोका कारण रोकथाममा दुबै सुरक्षा निकायको ध्यान छैन ।

पछिल्लो ५ महिनामा मात्रै जिल्लामा पटक–पटक तस्करीको सामानसहित ट्रक समातिएका छन् । जिल्लामा सुरक्षा निकायको आर्थिक लाभ लिएर मौन समर्थन हुँदा खुल्ला सीमाको तस्करहरूले भरपूर फाइदा लिइरहेका छन् ।

जिल्लाका मुख्य सीमानाका महेशपुर, भुजहवा, झुलनिपुर, विष्णुपुरा, बलिनगर, बसहिया, रगरगञ्ज, गेरमा, पडरी, हरकपुरालगायतका नाकाबाट अबैध रुपमा दाल, चिनी, कपडा, हार्डवेयर, मोटरपार्टस्, काजु, बदाव, किसमिस, दैनिक उपभोग्य सामान भित्रिने गरेको छ । नवलपरासीका अधिकांश सानाठूला पसलहरूमा भारतीय अवैध बाटोबाट भित्रिएको सामान छ्यापछ्याप्ती पाइन्छ ।

अवैध बाटोबाट भन्सार छलीको सामान भित्रिएर बजार भरिँदासमेत रोकावटमा सुरक्षा निकायको ध्यान गएको छैन । जिल्लामा सशस्त्रले तीनजना र नेपाल प्रहरीले ४ जना घुमुवा परिचालन गरेका छन् ।

प्रत्येक इलाका प्रहरीदेखि चौकी र सशस्त्रका बीओपीहरूले पनि घुमुवा परिचालन गरेका छन् । एक सुरक्षा अधिकारीका अनुसार नेपाल प्रहरी र सशस्त्रका सबै कार्यालय, इलाका प्रहरी कार्यालय, चौकी र बीओपी गरेर ५० बढी घुमुवा परिचालित छन् । उनीहरुले अवैध सामान भित्रिन रोक्ने भन्दा आफ्ना हाकिमलाई उठाएर रकम बुझाउनै मस्त छन् ।

जिल्लामा कुखुरा र तयारी मासु, माछा, खसीबोका, भैँसी तस्करी पनि उस्तै छ । यहाँबाट तस्करी हुने मासुजन्य पदार्थ बुटवल, चितवन, काठमाडौं लगायतका सहरमा पुग्ने गरेको छ ।

यस्तै, कपडा, हार्डवेयर, मोटरपार्टस् पोखरा, नवलपरासीका विभिन्न पसल, बुटवल, पाल्पा, स्याङ्जा, गुल्मी, काठमाडौं, चितवन लगायतका शहरमा पुग्ने गरेको छ ।

तस्करी रोक्न व्यवसायीले पटकपटक माग गर्दै आएका छन् । तर, मिलेमतोले रोकिएको छैन । जिल्लाका सीमा क्षेत्रमा रहेका व्यवसायीले नै तस्करी गर्ने गरेकाले निजी क्षेत्रलाई तस्करी रोक्ने अभियान सफल पार्न धौधौ छ ।

‘दिनभरी तस्करी भयो रोक्नुपर्छ भन्ने, साँझ भयो भने प्रहरीका अधिकारीसँग उठबस गर्ने र रातभरी तस्करी गर्ने व्यवसायीले गर्दा हामीलाई समस्या भइरहेको छ’, परासीका एक कपडा व्यवसायीले भने, ‘हामी दिनभर ग्राहक नआउँदा रन्थनिएर बस्छौं, तस्करी गर्नेहरु मालामाल छन् ।’

प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले जिल्लामा तस्करी नभएको दावी गर्दै आएका छन् । तर, वास्तविकता फरक छ । बजारभरी अबैध बाटोबाट भित्रिएका सामान हुँदासमेत जिल्ला प्रशासनबाट अनुगमन र रोकतोक नहुनुले सुरक्षा निकायको दाबी फेल खान्छ ।

जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा राजश्व चुहावट नियन्त्रण समिति हुन्छ । उक्त समिति निष्क्रिय छ । समितिका प्रमुख, नेपाल प्रहरी र सशस्त्र प्रमुखले नै तस्करबाट मासिक रकम बुझेर तस्करी खुकुलो गराउँदा इमान्दार व्यवसायी मारमा परेका मात्रै छैनन, दैनिक करोडौं राजश्वसमेत गुमिरहेको छ ।

कपडाका एउटा तस्करले नै सुरक्षा अधिकारीका प्रमुखलाई मासिक ३ लाखसम्म बुझाउने गरेको जिल्ला प्रहरी र सशस्त्र प्रहरीका तल्लो तहका अधिकारी बताउँछन् । यस्तै, हार्डवेयर र मोटरपार्टस् तस्करले मासिक २ लाख, माछा, कुखुरा र तयारी मासु तस्करले मासिक ५० हजारदेखि एक लाखसम्म बुझाउँछन् । दैनिक ३ सय बढी तस्करले जिल्लाका नाकाहरूबाट तस्करी गर्दै आएका छन् ।

यसरी तस्करले रकम बुझाउँदा सुरक्षा प्रमुखको मासिक अवैधानिक आम्दानी नै करोड पुग्न जान्छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको घुमुवा परिचालन नगर्ने नीति छ । सादा पोसाकका प्रहरी खटाएर सूचना संकलन गर्ने भनिन्छ । तर, उनीहरूको धन्दा हाकिमका लागि रकम असुल्ने भएको छ ।

रुपन्देही लगायतका तराईका जिल्लाबाट तस्करी गर्दै आएका तस्करहरू पनि पश्चिम नवलपरासीतिर लागेका छन् । ‘रातदिन खाली छैन । जतिबेला पनि तस्करी हुने गरेको छ । सीमामा सुरक्षाकर्मी तैनाथ छन् ।

ठाउँठाउँमा बीओपी, इलाका प्रहरी कार्यालय र चौकी छन् । तर, तस्करबाट रकम लिएर सबै चुपचाप छन्’, स्थानीय पंकज चौधरीले भने, ‘अहिले जस्तो तस्करी भएको मैले कहिल्यै देखेको थिएन ।’

तस्करहरूले सीमा क्षेत्रबाटै ट्रकमा अवैध सामान लोड गरेर ठाउँठाउँमा पु¥याउने गरेका छन् । साइकलदेखि मोटरसाइकल, इरिक्सा, टेम्पो, भ्यान, पिकअप, मिनीट्रक र ठूल्ठूला ट्रकबाटै तस्करी हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्