Logo
Logo

‘फिल्ममा पनि अभिनय गर्ने मेरो इच्छा छ’



भनिन्छ, ‘जहाँ इच्छा, त्यहाँ उपाय’, मोडल तथा मेडिकल पर्सन रेन्सा लिम्बू आङखेवाका लागि यो चरितार्थ छ । सानैदेखि मोडलिङमा रुची राख्थिन् उनी । रेन्सा सोच्थिन्, ‘एकदिन मोडल बनेर नाम कमाउने छु ।’ तर, उनी मेडिकल पर्सन अर्थात् ‘पारामेडिक’ बनिन् । तेह्रथुम छथर–६ की रेन्सा हाल तेह्रथुमकै ‘छथर अस्पताल’मा कार्यरत छन् । तर, दिनरात विरामीको हेरचाहका बावज्द पनि उनी मोडलिङमा छाइरहेकी छन् ।

‘सानैदेखि दुईटा सपना देखेकी थिएँ’ रेन्साले सुनाइन्, ‘स्वास्थ्यकर्मी बनेर विमारीको हेरचाह गर्ने र मोडलिङमार्फत नाम र पहिचान बनाउने । हाल त्यही सपनामा रमाउँदैछु ।’ आफ्नै गाउँमा विमारीको उपचार गर्न पाउँदा उनी झनै खुसी छिन् । ६ महिनादेखि छथर अस्पतालमा कार्यरत रेन्सा भन्छिन्, ‘म भाग्मानी रहेछु ।’ धरानमा सम्पन्न ‘मिस स्टेट-२०१८’मा सहभागी भएसँगै मोडलिङमा करिअर सुरु गरेकी रेन्साले दर्जनभन्दा बढी भिडियोमा अभिनय गरिसकेकी छन् । अवसर पाए फिल्ममा अभिनय गर्ने सोचमा रहेकी रेन्सा लिम्बूसँग एमपी सुब्बाको जम्काभेट :

हिजोआज के गर्दै हुनुहुन्छ ?

केही दिनअघि मात्र एउटा म्युजिक भिडियो गरेँ । चाँडै रिलिज हुँदैछ । त्यसबाहेक विमारीको सेवा र हेरचाहमै व्यस्त छु ।

विमारीको सेवामा खटेर मोडलिङमा समय कसरी मिल्छ ?

अहिलेसम्म समय दिन भ्याइरहेकी छु । मोडलिङप्रति मेरो रुची र इच्छा भएकाले पनि समय मिलाउँदै आएकी छु ।

स्वास्थ्यकर्मी र मोडलिङ कुन पहिले अँगाल्नुभएको हो ?
पहिले मोडलिङ नै हो । मलाई सानैदेखि मोडलिङ र अभिनयप्रति रुची थियो । त्यसैले सन् २०१९ मा धरानमा सम्पन्न ‘मिस स्टेट’मा सहभागी भएँ । त्यसपछि औपचारिक रुपमा मोडलिङ गर्न सुरु गरेकी हुँ । स्वास्थ्यकर्मी अर्थात ‘पारामेडिक’ गरेर जागीर गर्न थालेको धेरै भएको छैन ।

तपाइँको खाश रुचीचाहिँ के हो ?
मोडलिङ नै हो । अध्ययन गर्दै जाँदा स्वास्थ्यकर्मी बनेर विमारीको सेवा गर्ने इच्छा जाग्यो । त्यसैले एसएलसी सकेपछि मेडिकल टेक्निकल ‘पारामेडिक’ पढेँ । र, अहिले जागीर गर्दैछु । अहिले स्वास्थ्यकर्मी मेरो जागीर भएको छ भने मोडलिङ र अभिनय प्यासन बनेको छ ।

मोडलिङप्रति कसरी आकर्षित हुनुभयो ?
मोडलिङ र अभिनय क्षेत्र पनि मिडियाको एक अभिन्न अंग हो । त्यसैले मोडलिङबाट नाम र पहिचान बनाउन सकिन्छ भन्ने लागेर यो क्षेत्रमा आकर्षित भएकी हुँ ।

हालसम्म कतिवटा भिडियोमा मोडलिङ गर्नुभयो ?
एक दर्जनको हाराहारी भयो । प्रस्ताव आएका सबै म्युजिक भिडियोमा काम गरेको भए दर्जनौँ पुग्थ्यो कि । हिजोआज पनि म्युजिक भिडियोका लागि प्रस्ताव आइरहेको छ । तर, तेह्रथुममा छु । त्यसमाथि अस्पतालको जागीर । प्रस्ताव आउनेवित्तिकै झट्टै विदा मिलाएर जानु पनि नमिल्ने । तैपनि राम्रो गीतको भिडियोका लागि अफर आयो भने समय मिलाएर गर्दै आएकी छु ।

तपाइँ कल्चरल म्युजिक भिडियो बढी गर्नुहुन्छ है ?
कल्चरल मात्र होइन, सबै विधाका गीतमा मोडलिङ गर्दै आएकी छु । सुरुवात चाहिँ कल्चरल गीतबाटै गरेकी हुँ ।

तपाइँ अभिनीत बढी रुचाइएको भिडियो कुन हो ?
लिम्बू भाषा र कल्चरमा आधरित ‘च्याङ धुम च्याङ’ । जुन गीत धेरैले रुचाए । अहिले पनि उक्त गीतको भिडियोले युट्युबमा भ्यूअर्स पाइरहेको छ । उक्त भिडियोमा मोडलिङ गरेपछि थुप्रै गीतको अफर आयो । तर, अफर आएका सबै भिडियो समय अभावका कारण गर्न सकिनँ ।

फिल्ममा अभिनयका लागि अफर आयो भने के गर्नु हुन्छ ?
फिल्ममा अभिनय गर्ने मेरो रुची र इच्छा हो । त्यसैले मलाई मनपर्ने कथावस्तुको फिल्ममा अफर आयो भने समय मिलाएर काम गर्न तयार छु ।

तपाइँलाई मनपर्ने फिल्मको कथावस्तु के हो ?
फिल्मको कथा नारीप्रधान होस् । त्यसमा पनि रोमान्टिक र लभ स्टोरी कथावस्तु भएको फिल्ममा काम गर्ने इच्छा छ ।

अभिनय र नृत्य सिक्नुभएको छ कि छैन ?
अहिलेसम्म औपचारिक रुपमा सिकेको छैन । तैपनि सामान्यतया नृत्य गर्नसक्छु । परिआएको खण्डमा अभिनय पनि गर्न सक्छु भन्ने म मा आत्मविश्वास छ ।

हाल जागीर र मोडलिङमै दिन वितिरहेको छ होइन त ?
–त्यतिमात्र होइन । अध्ययन पनि गरिरहेकी छु । हाल राजनीतिक शास्त्रमा स्नातक दोस्रो वर्षमा अध्ययनरत छु । त्यसैले पढाइलाई पनि समय दिनु परेको छ ।

भविष्यमा राजनीति गर्ने सोच हो ?
मलाई राजनीतिप्रति पनि चासो छ । त्यसैले भविष्यमा राजनीतिमा पनि लाग्न सक्छु । राजनीतिमा युवापुस्ता आउनुपर्छ भन्ने मेरो नीजि धारणा हो । हाम्रो देशको वर्तमान राजनीतिक अवस्थालाई हेर्दा पनि अब युवाले नेतृत्व लिन आवश्यक भइसकेको छ ।

फूर्सदमा के गर्नुहुन्छ ?
घरको काम र साथीहरुसँग भेटघाट गर्ने । त्यसबाहेक शोसल मिडिया फेसबुक चलाउने गर्छु । म शोसल मिडियामा निक्कै एक्टिभ छु ।

प्रतिक्रिया दिनुहोस्