पाल्पा । पाल्पाको पुर्वखोला गाउँपालिका र हेफर प्रोजेक्टको आर्थिक सहयोग तथा समाज उत्थान सहयोग केन्द्र देवीनगरको सहजिकरणमा संचालित कृषि तथा पशु उद्यमशिलता विकास परियोजना अन्तर्गत पुर्वखोला गाउँपालिका वडा नम्बर १ सिलुवा मा अनुदान वितरण कार्यक्रम सम्पन्न भएको छ ।

पुर्वखोला गाउँपालिका–१ सिलुवाका वडाअध्यक्ष गिरीमान आलेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम जनपथ युवा उद्यमी समुह र मण्डली यूवा उद्यमी समूहको सहकार्यमा संचालन भएको हो । उक्त कार्यक्रममा दुवै समूहका १४ जना उद्यमीलाई ४ लाख २० हजार अनुदान वितरण गरिएको थियो । उक्त परियोजना अन्तर्गत सदस्यबाट लागत सहभागिता ११ लाख २५ हजार रहेको कर्यक्रममा जानकारी दिइएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि वडाअध्यक्षले कार्यक्रमको उद्देश्य अनुसार अगाडि बढ्नु पर्ने र युवाहरु यसै परियोजना जोडिएर अगाडि बढ्न आवश्यक रहेको बताए । कार्यक्रममा कृषि तथा पशु विकास उद्यमशिलता परियोजनाको रविन्द्र पंगेनीले संस्थामा भए गरेका गतिविधि र युवा उद्यमीले गर्नुपर्ने दायित्वबारे सहजीकरण गरेका थिए । सोही परियोजनाका खेमबहादुर हिस्कीले युवा उद्यमी आत्मनिर्भर हुनपर्नेमा जोड दिएका थिए ।
यस्तै, कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी उपशाखा सिलुवाका सचिव कृष्णप्रसाद पंगेनी, जनमार्ग माविका शिक्षक युवराज काफ्लेलगायत आआफ्नो धारणा राखेका थिए ।
जनपथ युवा उद्यमी समूहका अध्यक्ष समुन्द्रा भारतीले अध्यक्षता गरेको कार्यक्रममा मण्डली युवा उद्यमीका सचिव लोकबहादुर रानाले संचालन गरेका थिए भने मण्डलीका उपाध्यक्ष कुलबहादुर वयम्बुले स्वागत मन्तव्य रोखेका थिए ।











