
काठमाडौं । काठमाडौंको सिनामंगलमा आज (आइतबार) दिउँसो गोली चलेको छ । लागुऔषध ओसारपसारमा संलग्न गिरोह पक्राउ गर्ने क्रममा लगूऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली चलाएको हो ।
प्रहरीले चलाएको गोली लागेर आरोपी विकास भगत घाइते भएको लागूऔषध नियन्त्रण ब्यूरोका प्रमुख गोविन्द थपलियाले जानकारी दिए । उनलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ ।
भगतबाट प्रहरीले १०० ग्राम लागू औषध नियन्त्रणमा लिएको छ । ठूलो मात्रामा लागूऔषध ओसारपसार गरेको आशंकामा ब्यूरोबाट प्रहरी निरीक्षकको टोलीले भगतलाई पछ्याएको थियो ।
भगत एक घरभित्र प्रवेश गरेपछि प्रहरी पनि पुगेको थियो । ब्यूरोका प्रमुख थपलियाका अनुसार भगतले प्रहरी टोलीमाथि आक्रमण गरेपछि गोली चलाइएको हो ।














