
काठमाडौं । नेकपा एमालेका सांसद एवं पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले प्रस्तुत गरेको आगामी बजेट सिद्धान्त र प्राथमिकतासँग मेल नखाएको बताए ।
आज प्रतिनिधिसभामा बजेटमाथि छलफलमा भाग लिंदै सांसद पौडेलले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम एकातिर, सिद्धान्त–प्राथमिकता अर्कोतिर र बजेट झनै अर्कोतिर फर्किएर आएको बताएका हुन् ।
उनले भने, ‘देशको आर्थिक समस्यालाई यो बजेटले बुझेको छैन । नेपालको अर्थतन्त्र आर्थिक मारमा परेको छ । तर, नयाँ बजेटले अर्थतन्त्रलाई पुनर्जीवन दिन सकेको छैन । सरकारले लिएको आर्थिक नीतिले सुधार हुँदै गएको भनेर भ्रम छर्ने काम भएको छ । ३२ सय अंक पुगेको दैनिक २० अर्बको कारोबार भएको थियो । अहिले नेप्से परिसूचक घटेर १ हजार ९५० वरपर र २ अर्बको कारोबार भइरहेको छ । तर, पुँजी बजारको नकारात्मक परिदृश्यको जिम्मा लिने कोही छैन ।’
नीति तथा कार्यक्रम उल्लेख गरिएका कयौँ कार्यक्रम र योजनाहरूलाई बजेटमा नसमेटिएको उनले बताए । हिउँदमा ३० र बर्खा याममा ५० युनिटसम्म विद्युत् निःशुल्क उपलब्ध गराउने नीति तथा कार्यक्रमको घोषणालाई बजेटले अस्वीकार गरेको उनको भनाइ छ ।
बजेटले नेपालको अहिलेको आर्थिक अवस्थालाई सम्बोधन गर्न नसकेको, पुँजी बजार अगाडि बढाउने, अर्थतन्त्रलाई अगाडि बढाउनेतर्फ बजेट केन्द्रित नभएको बताए । उनले महँगा बाइकको कर घटाएर धेरैले प्रयोग गर्ने बाइकको कर वृद्धि भएको उल्लेख गर्दै निजी क्षेत्र बजेटको विरुद्धमा आन्दोलनमा नै उत्रिएको बताए ।














