काठमाडौं । पेशागत महासंघ नेपालले भारतलाई नेपाली भूमि समेटिएको नक्शा राखेको सम्बन्धमा कूटनीतिक नोट पठाइ ध्यानाकर्षण गराउन सरकारलाई आग्रह गरेको छ ।

भारत सरकारले आफ्नो नयाँ संसद भवनमा नेपालको भूमि समेटिएको नक्शा राखेकोप्रति आपत्ति जनाउँदै पेशागत महासंघले कूटनीतिक नोट पठाइ ध्यानाकर्षण गराउन सरकारसमक्ष आग्रह गरेको हो ।
साथै महासंघले विगतमा भएका असमान सन्धी सम्झौता खारेज गर्न र प्राकृतिक श्रोत साधनसम्बन्धी सन्धी सम्झौता नेपालको हीत अनुरुप लागू गर्न पनि सरकारसँग माग गरेको छ ।
आइतबार काठमाडौंमा भएको पत्रकार सम्मेलनमा महासंघका महासचिव राजन रेग्मीले महासंघले नेपाली नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाएर भ्रष्टाचार गर्ने अपराधीलाई कडा कारबाही गर्न पनि माग गरेको बताए ।
विगतमा भएका अनियमितता र भ्रष्टाचारमा संलग्न दोषीलाई कारबाही गर्नका साथै बुहदलीय व्यवस्थाको पुनःस्थापना यता राजनीतिक व्यक्ति र कर्मचारीतन्त्र भित्रका अकुत स्म्पती कमाउने व्यक्तिहरुको सम्पती छानबिन गर्न उच्चस्तरीय अधिकार सम्पन्न छानबिन समिति गठन गर्न उनले माग गरेको बताए ।
महासंघको लोगो, नाम, झण्डा, छाप लगायका सामानहरुको दुरुपयोग गर्नेहरुलाई कारबाही गर्न पनि महासंघले माग गरेको छ । कर्मचारीहरुले पाइरहेको कुनैपनि सेवा सुविधा कटौती नगर्न सरकारको ध्यानाकर्षण गराएको छ । उनले संघीय निजामती सेवा ऐन, शिक्षा ऐन, स्वास्थ्य ऐन लगायतका ऐनहरु चाँडो भन्दा चाँडो जारी गर्न सरकारसँग माग गरिएको बताए । महासंघले उच्चस्तरीय तलव सुविधा आयोगले नेपाल सरकार समक्ष सिफारिस गरे अनुसारको तलव सुविधा लागू गर्न सरकारसँग माग गरेको छ ।











