काठमाडौं । नेकपा एमालेका सांसद तारा लामा तामाङले सरकारले ल्याएको बजेट दिशाहिन रहेकाे आरोप लगाएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सांसद तामाङले सरकारले ल्याएको बजेटले खस्किँदै गएको अर्थतन्त्रलाई उकास्न सहयोग नपुग्ने धारणा राखेका हुन्।

बैठकमा बोल्दै उनले भने, ‘सरकारले ल्याएको बजेट किसान र श्रमजीवीलाई हेर्ने र समाजवादतिर जाने खालको छैन । यो बजेटबाट केही आशा गर्न सकिँदैन र यसमा समर्थनसमेत जनाउन सकिँदैन । यो बजेट दुई सरकारले ल्याएको जस्तो देखिएको छ ।’
सांसद तामाङले कैलालीको गेटामा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संचालन हुनुपर्ने धारणा राखे । राष्ट्रपतिले वाचन गरेको र प्रधानमन्त्रीले बोलेको विषयभन्दा फरक निर्णय हुँदा सुदुरपश्चिमेलीहरु आन्दोलित हुनुपरेको भन्दै यसमा उनले सरकारको ध्यानआकर्षण गराएका छन् ।
पाँच सय करोडको लगानीमा सुरु भएको गेटामा विश्वविद्यालय बनाउन छोडेर एक सय शैयाको अस्पताल बनाउने षडयन्त्र भएको भन्दै उनले त्यसो नगर्न सरकारलाई चेतावनीसमेत दिए ।
सांसद तामाङले कन्चनपुरमा वषौंँदेखि रहेको आरक्ष पीडितको समस्या समाधान गर्न समेत सरकारले ध्यान नदिएको र बजेटमा कुनै विषय उल्लेख नभएको आरोप लगाए ।














