
काठमाडौं । सर्वोच्च अदालतमा गौर हत्याकाण्ड सम्बन्धी रिट निवेदनमाथि आज (सोमबार) सुनुवाईका लागि पेसी तोकिएको छ । उत्तल रिट सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा सुनुवाई हुने गरी सोमबार पेसी तोकिएको हो ।
गौर नरसंहारको दोषीमाथि छानबिन गरी कानुनी कारबाही गर्न माग गर्दै त्रिभुवन साहले दायर गरेको उक्त रिट निवेदनमाथि सुनुवाईका लागि जेठ २२ गते पनि पेसी तोकिएको थियो । तर त्यसदिन समय हभावका कारण ‘हेर्न नभ्याइने’ सूचीमा मा परेको थियो ।
२०६३ साल चैत ७ गते रौतहटको गौरमा रहेको राइस मिलमा मधेसी जनअधिकार फोरम र तत्कालीन नेकपा माओवादीले एकै स्थानमा मञ्च तयार पारी कार्यक्रमको आयोजना गर्दा २८ जना माओवादी कार्यकर्ताको हत्या भएको थियो । हत्यामा तत्कालिन फोरमका अध्यक्ष उपेन्द्र यादव सम्बद्ध नेता, कार्यकर्ता तथा आपराधिक समूहको हात रहेको दाबी गरिएको थियो ।
हत्याकाण्डविरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दिँदा प्रहरीले छानबिन गरी दोषीमाथि मुद्दा दायर नगरेको भन्दै पीडितका परिवार तथा आफन्तले जेठ २१ गते सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका थिए ।














