काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमबारे गलत प्रचार भएको दाबी गरेका छन् ।
आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री महतले सो कुरा बताएका हुन् ।

उनले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको विशेषताको कुरै नगरी गलत प्रचार बढी भएको बताए । उनले भने, ‘यो कार्यक्रममा बजेटको सीमितता छ। भौतिक पूर्वाधारको निकै माग छ । यस्तो बेला निर्वाचन क्षेत्रमा नभई नहुने पूर्वाधार आयोजनामा कम्तीमा १ करोड रुपैयाँका दरले बजेट जाँदा पूर्वाधार विकासमा सहयोग पुग्यो। यो पूँजीगत खर्च नै हो ।’
उनले एक करोड तलको बजेटमा ठेक्का नलाग्ने र ठेक्का लगाउने काम सम्बन्धित मन्त्रालयकै हुने उनले प्रष्ट पारे । उनले भने, ‘‘माननीयले त सिफारिसमात्रै गर्ने हो। सिफारिस पनि गर्न नपाउने कुरा जायज होइन ।’
निर्वाचन क्षेत्रमा निर्वाचित, समानुपातिक लगायत सबै मिलेर योजना छनौट गर्ने कार्यविधि समेत बन्ने उनले बताए ।
अर्थमन्त्री महतले आगामी आर्थिक वर्षको लागि प्रत्येक निर्वाचन क्षेत्रको लागि ५ करोड विनियोजन गरेका थिए ।
यो कार्यक्रम अन्तर्गत एउटा आयोजनामा कम्तीमा १ करोड विनियोजन भएको छ ।











