
काठमाडौं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने भएका छन् । उनले आज (मंगलबार) साँझ ५ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिन लागेका हुन् ।
मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि साँझ ५ बजे बैठक बोलाइएको प्रदेश सांसद अंजना पंडितले दृष्टि न्यूजलाई जानकारी दिए ।जेठ १ गते नेकपा एमालेले समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको थियो ।
सरकारलाई समर्थन दिएका कुनै दलले समर्थन फिर्ता लिएमा ३० दिन भित्र पुनः विश्वासको मत लिनु पर्ने कानुनी व्यवस्था छ । सोही व्यवस्थाअनसार उनले भोलिसम्मा जसरी पनि प्रदेशसभाबाट पुनः विश्वासको मत लिनु पर्ने हुन्छ ।
तर, विश्वासको मत लिन मधेश सरकारले कुनै चासो देखाएको थिएन । तर उनले ३० दिन पुग्न एक दिन मात्रै बाँकी रहँदा आज प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् ।
प्रदेश सभामा एमालेका २३ , कांग्रेस २२, जसपा १८, जनमत १३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र माओवादी केन्द्रका ९–९, एकीकृत समाजवादीका सात सांसद छन् भने नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक÷एक जना सांसद छन् । यस्तै ३ जना स्वतन्त्र सांसद छन् ।











