
काठमाडौं । भोजपुर नगरपालिकाले शिक्षा क्षेत्रमा इ लर्निङ, प्रविधियुक्त शिक्षण सिकाई तथा विद्यालयको प्रशासनिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन नगरक्षेत्र भित्रका विद्यालयका प्रधानाध्यापक र श्रोत शिक्षकलाई आइसिटी सम्बन्धी तालीम प्रदान गरेको छ ।
नगरपालिका क्षेत्रमा सञ्चालित सामुदायिक र संस्थागत गरी ५३ विद्यालय मध्ये पहिलो चरणमा २२ वटा विद्यालयका प्रधानाध्यापक र श्रोत शिक्षकलाई १० दिने सूचना प्रविधि सम्बन्धी क्षमता विकास तालीम सञ्चालन गरेको नगरपालिकाका शिक्षा शाखा प्रमुख पदम प्रधानले बताए ।
उनका अनुसार तालिममा कम्प्युटर, इमेल, इन्टरनेट, विद्युतीय सिकाइ, नयाँ प्रविधि तथा टेक्नोलोजीकाे प्रयोग लगायत विविध विषयका बारेमा प्रशिक्षण दिइएको थियो । नगर क्षेत्रमा भएका सामुदायिक तथा संस्थागत विद्यालयमा तालिम पश्चात शैक्षिक क्षेत्रको सुधार, गुणस्तरीय शिक्षा तथा प्रविधियुक्त शिक्षा प्रदान तथा व्यवस्थापनमा आइसिटी तालिमले टेवा पुग्ने विश्वास लिएको भोजपुर नगरपालिकाका प्रमुख कैलाश कुमार आलेले बताए ।











