काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले विपन्न र असहाय बिरामीका लागि निःशुल्क उपचारको नीतिलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्ने बताएका छन् ।
बुधबार सिंहदरबारमा बसेको संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सबै अस्पतालमा दश प्रतिशत विपन्न र असहाय बिरामीका लागि निःशुल्क उपचारको नीतिलाई स्थानीय तहको सिफारिसका आधारमा प्रभावकारी रुपमा कार्यान्वयन गर्ने बताएका हुन् ।

उनले पैसा नभएर उपचार नपाई अकालमा मृत्युवरण गर्नुपर्ने अवस्थामा कोही नागरिकलाई पनि पुग्न नदिन सरकार प्रतिबद्ध रहेको बताए । त्यस्तै उनले सरकारी अस्पतालमा टिकटका लागि लामो लाइन बस्नुपर्ने अवस्थालाई काम गर्न अनलाईन टिकटको व्यवस्था गर्ने र टिकट वितरणको काउण्टरको संख्या बढाउने सिस्टमको सुरुवात नै भइसकेको बताए ।
त्यस्तै मन्त्री बस्नेतले विभिन्न अस्पतालमा उपयोगविहीन उपकरणलाई आवश्यकताका आधारमा अन्य अस्पतालमा वितरण गराइएको धारणा राखे । उनले बिभिन्न रोगको निदानका लागि उच्च सतर्कता अपनाइएको र बिभागहरुलाई आवश्यक निर्देशन दिइसकेको जानकारी दिए ।
बैठकमा समिति सदस्यहरुले नागरिकले सहज स्वास्थ्य सेवा पाउनुपर्ने, स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन हुनुपर्ने लगाएतका बिषयमा सरकार गम्भीर हुनुपर्ने बताएका थिए ।











