काठमाडौं । वानएक्स बेटमा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा कलाकारसहित आठ जना पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका अनुसार प्रतिबन्धित अनलाइन बेटिङ प्रवर्द्धन गरेको आरोपमा कलाकार र युट्युबरहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा गोरखा घर भई बनस्थलीले ३५ वर्षीय हास्यकलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’, धनकुटा घर भई भक्तपुर बस्ने २८ वर्षीय पवन खतिवडा ‘म्याकुरी’, पोखरा घर भई नयाँबजार बस्ने राजुमास्टर उर्फ राजु पौडेल र उदयपुर घर भई ललितपुरको टिकाथली बस्ने कलाकार तथा युट्युबर अलिश राई रहेका छन् ।
त्यस्तै रोल्पा घर भई कीर्तिपुर बस्ने २४ वर्षीय युट्युबर जलन घर्तीमगर ‘जलन’, मुगु घर भई टिकाथली बस्ने युट्युबर गणेश देवकोटा (जिडी), मोरङ घर भई भक्तपुर ठिमी बस्ने २५ वर्षीय सरोज घिमिरे (ढेडु बुढो) र प्युठान घर भई कलंकी बस्ने भटभटे माइला भन्ने बेगम नेपाली रहेका छन् ।
पक्राउ परेका कलाकारहरुले युट्युबमार्फत् अनलाइन वेटिङको विज्ञापन गरेको प्रहरीको आरोप छ । उनीहरुले युट्युबमार्फत प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेका थिए । कलाकार एवं युट्युबरले विज्ञापन गरी सट्टेबाजीमा युवापुस्तालाई आकर्षण गर्ने गरेको भन्दै प्रहरीले अप्रेसन चलाएको थियो ।
अनलाइन बेटिङमार्फत सट्टेबाजीको कारोबार गरेको आरोपमा बुधबारमात्रै उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो । पाँच जनाले मात्रै रु ७४ करोडको कारोबार गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
उक्त कारोबारमा गरेको आरोपमा पक्राउ पर्नेमा कैलाली घर भई काठमाडौँको मैजुबहाल बस्ने २९ वर्षीय दिनेश खड्का, २८ वर्षीया अनिता धिताल, भक्तपुरको मध्यपुर ठिमी–४ बस्ने २७ वर्षीय दिपेश श्रेष्ठ, कञ्चनपुर घर भई काठमाडौँ बुद्धनगर बस्ने २५ वर्षीय दिनेश चन्द र नुवाकोट घर भई नागर्जुन बिसी क्याप स्किल बस्ने २४ वर्षीय आशीष लामिछाने रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक डा केसीे बताउनुभयो ।
पक्राउ परेकाहरुको खातामा करोडौँ रकमको कारोबार भएको देखिएको थियो । साथै दिनेश खड्का एक्लैको खाताबाट रु ६४ करोड ७७ लाख ८८ हजार ७७१ बराबरको कारोबार भएको देखिएको छ । यसैगरी श्रेष्ठको खातामा रु पाँच करोड ५४ लाख ६६ हजार, चन्दको रु ४५ लाख र लामिछानेको रु दुई करोड ९८ लाख ९६ हजारको कारोबार भएको खातामा देखिएको छ ।
आशीष लामिछानेले रु ३७ लाख बराबरको नगद कारोबार समेत गरेको प्रहरीले जनाएको छ । उक्त रकम प्रहरीले बरामद गरी बुधबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको थियो । पक्राउ परेकाबाट रु ७४ करोड १३ लाख ५० हजार सात सय ७१ बराबरको कारोबार भएको भेटिएको थियो । प्रहरीले उनीहरुमाथि थप अनुसन्धान अघि बढाएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
मुलुकी अपराध संहिता, २०७४ को धारा १२५ मा जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने व्यवस्था छ । धारा १२५ को (२) को उपदफा (१) को (क) मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा रु ३० हजार सम्म जरिवाना र उपदफा (ख) मा दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र रु ५० हजार सम्म जरिवाना र त्यसपछिको कसूरमा पटकैपिच्छे थप तीन महिनासम्म कैद र रु १० हजार सम्म जरिवाना हुने व्यवस्था रहेको छ ।














