Logo
Logo

‘विद्युत व्यापारमा निजी क्षेत्रसँग मिलेर अघि बढ्छौं’



काठमाडौं । ऊर्जामन्त्री शक्ति बस्नेतले विद्युत व्यापारमा निजी क्षेत्रसँग मिलेर अघि बढ्ने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानको २१औं वार्षिकोत्सव कार्यक्रममा उनले विद्युत व्यापारमा निजी क्षेत्रको योगदान महत्त्वपूर्ण रहेको बताए । ‘सरकार अब विद्युत व्यापारमा पनि निजी क्षेत्रसँग मिलेर अघि बढ्छ’, उनले भने ।

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा गरेको सम्झौता कार्यान्वयनमा बताउँदै उनले आगामी १० वर्षमा १० हजार मात्रै नभएर १२/१५ हजार मेगावाट विद्युत व्यापार गर्नेगरी काम गर्ने बताए ।

विद्युतको आन्तरिक खपत बढाउन योजना बनाउनुपर्ने उनको भनाई छ । सरकारले भारत, बंगलादेश मात्रै नभएर अन्य देशमा पनि विद्युत बेच्ने योजना रहेको उनले सुनाए । त्यसका लागि पूर्वाधार तयार गर्नुपर्ने र प्रसारणलाइन निर्माणका लागि काम गर्नुपर्ने बताए ।

मन्त्री बस्नेतले ऊर्जा लगानी बढाउन कानुन संशोधनलगायत काम सरकारको ध्यानमा परेको बताए । देशमा जलविद्युतका लागि लगानीमैत्री वातावरण बनाउन सरकारले काम गर्ने आश्वासन दिँदै उनले ऊर्जा विकासका लागि लिएको लक्ष्यमा पुग्न हातेमालो गर्न निजी क्षेत्रलाई आग्रह गरे ।

पूर्वाधारमा अहिले चुनौती जस्तो देखिए पनि काम गर्दै जाँदा सबै समस्या समाधान हुने उनको भनाई छ । विद्युत वितरणलाई स्मार्ट बनाउने गरी काम भइरहेको तथा पीपीएमा देखिएको समस्या समाधान गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्