Logo
Logo

गुणस्तरीय न्याय सम्पादन मुख्य जिम्मेवारी : नवनियुक्त प्रधानन्यायाधीश


693
Shares

काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले स्वच्छ, निष्पक्ष, छिटो छरितो एवं गुणस्तरीय न्याय सम्पादन गरी सबैका लागि न्याय सुनिश्चित गर्नु आफ्नो मुख्य जिम्मेवारी भएको बताएका छन् ।

संसदीय सुनुवाइ समितिमा प्रस्तुत गरेका कार्कीले आफ्नो कार्ययोजनामा न्याय प्रशासनलाई प्रभावकारी बनाउने जिम्मेवारीप्रति त्यतिकै सजग र संवेदनशील रहने पनि स्पष्ट गरे ।

प्रधानन्यायाधीश कार्कीले भने, ‘सबैका लागि न्याय सुनिश्चित गर्ने मुख्य जिम्मेवारीप्रति त्यतिकै प्रतिबद्ध रहनेछु । प्रस्तुत कार्ययोजनाबाट न्यायिक सुशासन र न्यायपालिकाप्रतिको आस्था एवं विश्वास अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने ठानेको छु ।’

विसं २०१५ भदौ २५ गते ओखलढुङ्गाको माम्खामा जन्मिएका प्रधानन्यायाधीश कार्कीले विसं २०३९ मा त्रिभुवन विश्वविद्यालयबाट कानुनमा सङ्कायमा स्नातक गरेका थिए । लामो समयसम्म वकालत पेसामा रही आफ्नो छवि बनाएका उनले विसं २०६९ मा वरिष्ठ अधिवक्ताको उपाधि प्राप्त गरेका थिए । सोही वर्ष कार्की नेपाल बार एसोसिएसनको अध्यक्षमा निर्वाचित भएका थिए । विसं २०७१ मा नेपाल सरकारको महान्यायाधिवक्ता पदमा नियुक्त भएका उनी नेपाल बार काउन्सिल र नोटरी पब्लिक काउन्सिलको अध्यक्ष थिए । विसं २०७२ मा सर्वोच्च अदालतको न्यायाधीशको जिम्मेवारीमा प्रवेश गरेका कार्कीलाई न्याय सेवा परिषद् र न्यायसेवा आयोगको सदस्य भई काम गरेको अनुभव छ ।

संवैधानिक परिषद्ले उहाँलाई गत वैशाख २५ गते नेपालको प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गर्दै संसदीय सुनुवाइ गर्न सङ्घीय संसद्समक्ष पठाउने निर्णय गरेको थियो । समितिले आज उहाँको कार्ययोजना र उनीविरुद्ध प्राप्त उजुरीमाथिको छलफल र प्रश्नोत्तरपछि प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सर्वसम्मत अनुमोदन गरेको थियो । समितिको निर्णयपछि राष्ट्रपति रामचन्द्र पौडेलबाट नियुक्त उनले आजै पद तथा गोपनीयताको शपथ लिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्