
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १४ अस्पतालमा फोकल पर्सन तोकेको छ । नेपालमा पहिलो पटक मंकीपक्स भाइरस संक्रमणको बिरामी भेटिएसँगै सुरक्षा सतर्कता र नियन्त्रणका लागि फोकल पर्सन तोकेको हो ।
मन्त्रालयका अनुसार केही दिनअघि नेपाल आएकी एक एकजना ६० वर्षीया विदेशी महिलामा मंकीपक्सको संक्रमण देखिएको थियो ।
उक्त विदेशी महिला ज्वरो सहित मंक्किपक्स जस्तै लक्षण देखिए पनि चिकित्सकको सम्पर्कमा पुगेकी थिइन लक्षण सबै मिल्दोजुल्दो देखिएपछि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा उनमा मंक्किपक्स पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताए ।
उनका अनुसार नेपालमा मंक्किपक्स संक्रमण पुष्टि भएसँगै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित देशभरका १४ अस्पतालमा फोकल पर्सनको रुपमा चिकित्सकहरुलाई जिम्मेवारी दिइसकेको समेत बताए।
कोभिड १९ संक्रमण, डेंगु लगायतको पहिलो केसको पुष्टि गर्न यसअघि विदेश पठाउने गरिएको भए पनि मंकीपक्स भाइरसको पुष्टि भने पहिलोपटक नेपालकै सरकारी प्रयोगशालामा परीक्षणपछि पुष्टि भएको हो। संक्रमणको जोखिम हेरेर मन्त्रालयले थप रणनीति बनाउँदै जाने उनले बताए। मन्त्रालयले मंकीपक्सको शंका लागेमा १११५ वा ११३३ मा सम्पर्क गर्न पनि आग्रह गरेको छ।














