Logo
Logo
कला

‘म म्हेन्दोमायाको साधक हुँ’



उनी नामभन्दा कामलाई प्राथमिकता दिन्छिन् । ‘काम गरेपछि नाम आफैंँ रहन्छ’ भन्ने मान्यता राख्छिन् उनी अर्थात गायिका रमला पाख्रिन तामाङ । ६ सयभन्दा बढी गीतका स्रष्टा हुन् रमला । गीतसंगीतमै अढाइ दशक विताइसेकी उनी म्हेन्दोमाया गायनमा चर्चित छिन् । ‘म्हेन्दोमाया साम्राज्ञी’को रुपमा समेत चिनिएकी रमला भन्छिन्, ‘अहिलेसम्म जति गाएकी छु, अधिकांश म्हेन्दोमाया गीत गाएकी छु । धादिङ र नुवाकोटको भाकालाई प्रवद्र्धन र संरक्षण गर्ने मेरो उद्देश्य हो ।’

२०५६ सालमा ‘म्हेन्दोमाया’ गीतिसंग्रह ल्याएपछि औपचारिक गायनयात्रा प्रारम्भ गरेकी धादिङ खनियाबासकी रमलाका ‘कतो तङच्यो रोमा’, ‘अम्बले अम्बले’, ‘लक्पर योन्दोङ’, कस्र्योल पोङ’, ‘साइकोले कोउ’, ‘सिङ्ल म्हने’ ‘गङजोरी तामर म्हेन्दो’, ‘रन्ता तपरीम’, र ‘म्हेन्दोमायाँ ब्याटल’जस्ता गीत चर्चित छन् । ‘म्हेन्दोमाया’का अलावा रमलाका एक थुप्रै नेपाली गीत लोकप्रिय छन् । हालैमात्र रमलाको ‘म्हेन्दोरी लोई’ बोलको गीत सार्वजनिक भएको छ । गायनमा योगदान गरेवापत विभिन्न पुरस्कार र सम्मान पाइसेककी गायिका रमलासँग एमपी सुब्बाको जम्काभेट ।

हिजोआज के गर्दै हुनुहुन्छ ?
गीत संगीतमै ब्यस्त छु । भर्खरैमात्र एउटा म्हेन्दोमया गीत आफ्नै अफिसियल युट्युब च्यालनमार्फत ल्याएको छु, र अरु नयाँ गीतहरुको रेकरर्डिङको काम भइरहेको छ । चाँडै भिडियोसहित आउँदै छ ।

गीतसंगीत क्षेत्रमा लाग्नुभएको कति भयो ?
स्कुल तथा गाउँमा हुने साँस्कृतिक कार्यक्रमहरुदेखि नै गाउन थालेकी हुँ । २०५६ सालमा म्हेन्दोमाया युवा समाज नेपालको पहिलो ‘म्हेन्दोमाया’ गीति संग्रहमा पहिलोपटक औपचारिक रुपमा गाउने अवसर पाएँ । त्यसपछि मेरो गायन यात्रा सुरू भएको हो । म निरन्तर अढाई दशकदेखि यहिी क्षेत्रमा छु ।

गायनमा कसरी आकर्षित हुनुभयो ?
स्कुल तथा गाउँमा हुने साँस्कृतिक कार्यक्रमहरुमा गाउँदा सबैले तिम्रो स्वर कति राम्रो छ भनेर अरु समयमा पनि गाउन अनुरोध गर्न थाले । काठमाडौं आएपछि म्हेंदोमाया युवा समाज नेपालका अग्रज दाइहरुले गाउन अनुरोध गरेपछि यस क्षेत्रमा आकर्षित भएकी हुँ ।

तपाइँ म्हेन्दोमाया गीत बढी गाउनुहुन्छ ?
मैले म्हेंदोमायाबाहेक नेपाली गीत पनि थुप्रै गाएकी छु । आफ्नो मौलिक कला, संस्कृति र पहिचानको लागि म्हेंदोमाया गीतहरु धेरै गाएकी हुनाले म्हेंदोमायालाई प्राथमिकता दिएको देखिन्छ ।

म्हेन्दोमाया खाशमा के हो ?
म्हेंदोमाया गाउँघर र मेलापातमा पहिलेदेखि नै प्रचलित भाका हो । विषेशगरी म्हेन्दोमाया भाका धादिङ र नुवाकोटमा बढी प्रचलनमा थियो । तर, २०५६ सालमा म्हेंदोमाया युवा समाज नेपाल गठन भएपछि सबैतिर प्रचलनमा आउन थाल्यो । २०५६ सालमै पहिलोपटक म्हेन्दोमाया रेकर्डिङ गरेर बजारमा ल्याएपछि बढी चर्चामा आएको पाइन्छ ।

तपाइँलाई ‘म्हेन्दोमाया साम्राज्ञी’ पनि भन्छन्, स्वीकार्नु हुन्छ ?
यो त मैले भन्ने कुरा होइन, दर्शक श्रोताको मायाले दिनुभएको उपमा हो । मेरो भाषामा भन्नु हुन्छ भने म म्हेन्दोमायाको साधक हुँ ।

अहिलेसम्म कति गीत गाउनुभयो ?
अहिलेसम्म नेपाली, सेलो र म्हेंदोमाया गरि लगभग ६०० भन्दा बढी गीतहरुमा स्वर दिने अवसर पाएकी छु ।

तपाइँलाई सुरुमा चिनाउने गीत कुन हो ?
म्हेन्दोमाया युवा समाज नेपालले निकालेको पहिलो गीति संग्रहबाट चिनिन थालेकी हुँ । तर, मेरो आफ्नै गीतिसंग्रहको कुरा गर्नु भएको हो भने ‘रन्त तपरीम’, ‘तन्गसर कतो’ र ‘म्हेन्दोमाया अस्यवरिम’लगायतका गीतले मलाई यो क्षेत्रमा स्थापित गरेको हो ।

तपाइँले रोजेको पेसाबाट खुसी हुनुहुन्छ ?
हजुर, मलाई यहि पेशामार्फत धेरै व्यक्तिहरुले चिन्नुभएको छ । माया गर्नुभएको छ । त्यसैले खुसी, होइन, अत्याधिक खुसी छु ।

यो क्षेत्रबाट उपलब्धी के पाउनु भयाे ?
यस क्षेत्रमा लागेपछि मैले प्राप्त गरेको सबै भन्दा ठूलो उपलब्धि दर्शक/श्रोताको अपार माया नै हो । एक कलाकारको लागि यो भन्दा ठूलो उपलब्धी के हुन्छ र ।

गीतसंगीतमा लागेर देशविदेश कहाँ पुग्नुभयो ?
नेपालको काठमाडौंलगायत विभिन्न सहरमा कार्यक्रम गरिसकेकी छु । विदेश भन्नुपर्दा दुवई, कुवेत, कतार, कोरिया, मलेसिया, जापान, सिंगापुर, बेलायत लगायतका दर्जन देशमा कला प्रस्तुत गरेकी छु ।

यहाँसम्म आइपुग्नलाई कतिको संघर्ष गर्नुपर्यो ?
संघर्षविना सफल भएको कुनै उदाहरण छैन । मौलिक गीत संगीतबाट आउनका लागि झन् धेरै संघर्ष गर्नुपर्ने रहेछ, जुन मैले पनि गरेकी छु ।

संगीतमा साधनाका आवश्यक छ कि छैन ?
कुनैपनि कुरामा सफल हुनलाई साधनाको अति आवश्यक पर्छ । झन् संगीतमा त साधनाबिना असम्भव छ ।

प्रविधिको परिवर्तनले गायक/गायिकालाई फाइदा भएको छ कि घाटा ?
प्रविधिमा आएको परिवरर्तन सँगै हिँड्न सक्नेहरुलाई फाईदा पनि छ र प्रविधिसँगै हिँड्न नसक्नेहरुलाई घाटा छ ।

परिवारबाट साथ सपोर्ट पाउनुभएको छ कि छैन ?
अवश्य पनि परिवारको साथ र सपोर्ट विना म यो स्थानसम्म आउन सक्ने नै थिएन । यसको लागि म मेरो परिवारलाई यसै पत्रिकामार्फत हार्दिक धन्यबाद दिन चाहन्छु ।

गायनमा संघर्ष गरिरहँदा फिल्ममा अभिनय गर्ने सोच आएन ?
मलाई अभिनय भन्दा पनि गायनमा रुची भएका कारण अभिनय गर्ने सोच आएको छैन । तर, यसो भन्दै गर्दा भर्खर रिलिज भएको मेरो आफ्नै गीतमा भने जानी नजानी अभिनय गरेकी छु ।

कलाकार हुनुमा फाइदा र बेफाइदा के छ ?
कलाकार हुनुमा फाइदा बेफाइदा भन्दा पनि म आफ्नो क्षेत्रप्रति कत्तिको इमान्दारी छु भन्ने कुरामा विश्वास गर्छु ।

आफ्ना दर्शक तथा श्रोतालाई के भन्नुहुन्छ ?
हजुरहरुको माया, साथ र सपोर्टले गर्दा म यहाँसम्म आउन सफल भएकी छु । यसरी नै माया, साथ र सपोर्ट गर्दै रहनुहोला ।

प्रतिक्रिया दिनुहोस्