काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले यथास्थितिमा बजेट पारित गर्न नदिने बताएका छन् । आइतबार गाउँपालिका राष्ट्रिय महासंघले बजेटबारे छलफल गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

उपाध्यक्ष पाण्डेले बजेट यथास्थितिमा पारित गर्नेभए आफ्नो पार्टी र सांसदहरु त्यसमा समर्थन गर्न नसक्ने बताए । पार्टी अध्यक्ष माधवकुमार नेपाललाई बजेट यथास्थितिमा पारित गर्न नदिने भनिसकेको बताउँदै उनले भने, ‘यही अवस्थामा यो बजेट पास हुँदैन । मैले आफ्नो पार्टीको अध्यक्ष माधवकुमार नेपाललाई सँगै लगेर भनेको छु, भोट हाले तपाईं एक्लै हाल्नुस्, हामी हाल्दैनौँ भनेको छु ।’
सांसद र मन्त्रीहरुले आफूलाई अस्थायी ठान्दा विकास निर्माणमा समस्या भइरहेको उनको भनाइ छ । ‘हामी सबै सांसद र मन्त्रीहरुले आफूलाई अस्थायी ठान्यौँ । बरु गाउँपालिका, नगरपालिकामा जित्ने साथीले ५ वर्षको लागि केही हुँदैन भनेर ढुक्क हुनुहुन्छ’ नेता पाण्डेले भने, ‘तर मन्त्रीहरु सबैले आफूलाई अस्थायी ठान्यौँ । हामीले जस मात्रै खोज्यौँ ।’











