Logo
Logo

राष्ट्रवादी बन्ने होडबाजी



आजकल ‘राष्ट्रवाद’ बहुचर्चित शब्द बनेको छ  । बेलाबेला ‘राष्ट्रवाद’को नारा चर्किरहन्छ । कोही कसै आफूलाई ‘राष्ट्रवादी’ भन्न र देखाउन कुनै कसर बाँकी राख्दैनन् । अरुले राष्ट्रवादको कुरा गर्यो भने उ एक कदम अघि बढ्छन् । र, आफूलाई अझ बढी ‘राष्ट्रवादी’ देखाउँछन् !

प्रश्न उठ्छ– राष्ट्रवादी हुन स्वघोषणा गर्नैपर्छ र ? सबैको विचारमा समानता हुँदैन । एक व्यक्तिको राष्ट्रवादको परिभाषा अर्को व्यक्तिलाई मान्य नहुन सक्छ । एउटा दलको ‘राष्ट्रवाद’ अर्को दललाई ‘राष्ट्रघात’ हुनसक्छ । नागरिकता विधेयक प्रमाणिकरणपछिको परिस्थितिलाई नियाल्दा त्यस्तै देखिन्छ ।

कुरा गरौँ, भारतको ‘अखण्ड भारत’ मुरल नक्साबाट । ‘अखण्ड भारत’को नक्सामा भारतले लुम्बिनी र कपिलवस्तु राखेर नेपाललाई चकित पारिदियो । उक्त नक्साबारे प्रतिक्रियाहरूको ओइरो लाग्यो ।सामाजिक सञ्जालमा खैलाबैला भयो ।

उक्त नक्साबारे कसलाई अपजस लगाउने र को ‘राष्ट्रवादी’ बन्ने होडबाजी चल्यो । संयोग, भारतले नक्सा जारी गरेकै बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भ्रमणको साइत जुर्यो । तर, त्यस विषयमा भारतसँग कुरै भएन । त्यसैले प्रधानमन्त्री प्रचण्डतिर धेरैको औँला तेर्सिए ।

प्रचण्डले आलोचना खेपिरहेको बेला ‘ग्रेटर नेपाल’को नक्सा सतहीमा आयो । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले संसद्मा ‘ग्रेटर नेपाल’ नक्सा राख्न प्रस्ताव गरे । कांग्रेसका महामन्त्री गगन थापाले त्यसलाई बल पुग्ने अभिव्यक्ति दिए । उनले भनिदिए– ‘हामी पनि ग्रेटर नेपालको नक्सा प्रयोग गर्यौँभने के हुन्छ ?’

धेरैलाई लाग्न सक्छ– ‘टिट फर ट्याट’ । तर, टोक्ने कुकुरलाई टोक्न मिल्दैन ! बालेनले आफ्नो कार्यकक्षामा ग्रेटर नेपालको नक्सा झुन्डाउँदैमा खुशी हुनुपर्ने विषय छैन । उनलाई राष्ट्रवादीको ट्याग भिराउन पनि अनावश्यक हो । बालेनको कदम अपरिपक्व छ ।

काठमाडौं महानगरका मेयर बालेन साह एक कदम अघि बढे । उनले आफ्नो कार्यकक्षमै ‘ग्रेटर नेपाल’को नक्सा झुन्डाइदिए । त्यसले तरंग सिर्जना गर्यो । हस नै पैदा गरिदियो । बालेनलाई राष्ट्रवादीको ट्याग भिराइयो । सामाजिक सञ्जाल ‘ग्रेटर नेपाल’मय बन्यो ।

अहिले ‘राष्ट्रवादी’ बन्ने होड चलेको छ । बुझ्न कठिन छैन, यी अभिव्यक्तिहरू राष्ट्रवादी छवि कायम राख्नका लागि मात्रै हो । यसअघि पनि ‘मौसमी राष्ट्रवाद’ स्वर बारम्बार सुनिँदै आएको हो । २०७२ सालको भूकम्पछि पनि एमाले अध्यक्ष केपी शर्मा ओलीको यस्तै ‘राष्ट्रवाद’ देखिएको थियो तर त्यो धेरै टिक्न सकेन ।

हामी आँखा झिमिक पारेकै भरमा कसैलाई महान् राष्ट्रवादी बनाइदिन्छौँ । अनि छिनमै घोर राष्ट्रघाती पनि । एकैदिनमा एकैजनालाई राष्ट्रघातीको पगरी गुथाइदिन र राष्ट्रवादीको ताज पहिर्याउन भ्याउँछौँ ।

देशप्रेमी र देशद्रोहीको इजाजत यसरी बाँडिरहेका छौँ, मानौँ त्यो बाँड्ने ठेक्का नै पाएका छौँ । राष्ट्रवादीको प्रमाणपत्र यति सस्तो छ कि पानीपुरी र चटपटे पसलमा समेत पाइन्छ !

देशभक्ति मातृभूमिप्रतिको लगाव हो । तर, सस्तो लोकप्रियताको लागि सस्तै प्रचारबाजी भइरहेको छ । बजारमा धेरै बिक्ने सबै राम्रा पनि हुँदैन । बिक्नैको लागि त चुरोट धेरै बिक्छ । त्यसोभन्दैमा चुरोटको दोकान खोल्नुपर्छ भन्ने छैन ।

धेरैलाई लाग्न सक्छ– ‘टिट फर ट्याट’, तर कुकुरले टोक्यो भन्दैमा कुकुरलाई टोक्न मिलेन होला नि ! विराजभक्त र गगनले ‘ग्रेटर नेपाल’को कुरा उठाउन र बालेनले कार्यकक्षमा झुन्ड्याउनु हुन्न भन्ने कदापि होइन । तर, सस्तो लोकप्रियताको लागि गाम्भीर्यता भने भुल्न हुँदैन ।

पूर्वमा टिस्टादेखि पश्चिममा काँगडासम्मका भूमिलाई ‘ग्रेटर नेपाल’ भन्ने गरेका छौं । जुन भूमिमा अहिले पनि नेपालको हक लाग्ने दाबी गर्छौ । कुनै समय टिस्टादेखि काँगडासम्म नेपालकै भूमि थियो । सुगौली सन्धिपछि मेची र महाकालीमा खुम्चियो ।

उक्त सन्धिले अहिलेसम्म बिझाइरहेको छ । पूर्वमा घुँडासम्म र पश्चिममा टाउकै काटेजस्तो भएको छ । सो सन्धि बेलाबेलामा चर्चामा आउँछ । तर, बहसको विषय बन्दैन । बनाइँदैन ।

सुगौली सन्धि भारतसँग भएको होइन । सन्धि बेलायत सरकार र इस्ट इन्डिया कम्पनीसँग भएको हो । इष्ट इन्डिया कम्पनी ब्रिटिसहरूले नै एउटा ऐनअन्तरगत बनाएको कम्पनी हो । यो सन्धिको जवाफदेही बेलायत हो । तर, सन्धिको कारण नेपालले गुमाएको भूमि भने भारतमै पर्छ ।

नेपालका केही भूभागहरू भारतले होइन, अंग्रेजले खोसेको हो । अहिलेको भारत पनि ब्रिटिसहरूले बनाइदिएको हो । ब्रिटिस आउनुअघि त्यहाँ ६ सय बढी राज्य भएको बताइन्छ । १९४७ अगस्ट १५ मा भारत स्वतन्त्र बन्यो । अंग्रेजहरू भारत छाडेर गयो ।

अंग्रेजले भारत छाडेर गएपछि नेपालको भूमि स्वतः फिर्ता आउनुपर्ने हो । तर, भारत छाडेको ७६ भइसक्दा पनि आएको छैन । नेपालकै उदासीनताले उक्त भूभाग भारतकै अधीनमा छ ।

तार्किक र प्रामाणिक रुपमा उक्त भूभागमा नेपालको सिधा हक लाग्छ । तर, सोबारे सूक्ष्म बहस हुँदैन । सन्धि, सम्झौता न्यायपूर्ण छन् वा छैनन् ? आवाज उठ्दैन । सन्धिमा प्रवेश गर्न हाम्रो सदन र सरकार आवश्यक ठान्दैन । भारत रिसाउलान् भन्ने ठान्छन् ।

जिम्मेवार पदमा बसेकाहरू आफूलाई देशभक्त देखाउन तुन्द्रुङ्ग नक्सा देखाउँछन् । ‘ग्रेटर नेपाल’लाई संस्कृत नक्साको रुपमा प्रयोग गर्ने प्रस्ताव गर्छन् । नेपालीमा एउटा भनाइ छ– एक तिर, दुई निसाना । ‘ग्रेटर नेपाल’को नक्सा प्रयोग पनि त्यस्तै हो । भारत नचिढिने, राष्ट्रवादी पनि भइने ।

नक्सा प्रयोग गर्दैमा भूमि फिर्ता आउने होइन । भूमि फिर्ता ल्याउन सरकारले कूटनीतिक पहल गर्नुपर्छ । त्यसका लागि राजनीतिक दलहरू एक हुन जरुरी छ । मेलमिलाप हुनुपर्छ । चुच्चे नक्साको जस लिन हानथाप गरेजस्तो गर्नुहुँदैन । चुच्चे नक्सा त बनेको छ, तर त्यहाँ भूमि फिर्ता आएको छैन ! नक्सा भनेको कागजको बोतलमा पानी भर्नुजस्तो हो । मुख्य कुरो भूमि फिर्ता आउनुपर्छ ।

भारतले नवनिर्मित संसद्मा राखेको मुरल पोलिटिकल नक्सा होइन । त्यसैगरी मेयर बालेनले आफ्नो कार्यकक्षमा राखेको ग्रेटर नेपालको नक्सा पनि पोलिटिकल म्याप होइन । गगन र विराजभक्तले राखेको विषय पनि सांस्कृतिक नक्साकै विषय हो ।

यी विषयहरूलाई लिएर खुशी हुनुपर्ने छैन । उनीहरूलाई राष्ट्रवादीको ट्याग भिराउन पनि आवश्यता छैन । कसैले चित्त दुख्ने काम गर्दा आफूले पनि त्यहीअनुरुपको व्यवहार गर्नु अपरिपक्वता हो । अनावश्यक बहस तन्किंदै जाने हो भने छिमेक सम्बन्धमा फेरि वादप्रतिवादको रुप लिन सक्छ ।

नेपालमा पनि भारतकै जस्तो बढ्दो लोकप्रियतावादले समाधान भन्दा पनि समस्या झन् जेलिंदै जान सक्नेछ । त्यसैले लोकप्रियतामा भन्दा पनि गाम्भीर्यतामा ध्यान दिन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्