Logo
Logo

माछापुच्छ्रे बैंक र प्याब्सनबीच वित्तीय र डिजिटल साक्षरता पहलसम्बन्धी सम्झौता


441
Shares

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र निजी क्षेत्रका विद्यालयहरुको छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) बीच वित्तीय र डिजिटल साक्षरता पहलसम्बन्धी सम्झौता भएको छ । बैंकले आम जनमानसमा वित्तीय साक्षरता जगाउने उद्देश्यले प्याब्सनसँगको सहकार्यमा देशव्यापीरुपमा वित्तीय एंव डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।

विसं २०८० असार ४ गते राजधानीको होटल याक एण्ड यतीमा आयोजित एक औपचारिक कार्यक्रमका बीच उक्त सम्झौतामा माछापुच्छ«े बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला एवं प्याब्सनका तर्फबाट अध्यक्ष डिके ढुंगानाले हस्ताक्षर गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले माछापुच्छ्रे बैंक तथा प्याब्सनको सहकार्यमा सञ्चालन हुने वित्तीय एवं डिजिटल साक्षरता कार्यक्रममा आवश्यक परेको खण्डमा नेपाल राष्ट्र बैंकको तर्फबाट सहयोग प्रदान गर्ने बताउँदै पछिल्लो समयमा ग्राहकवर्गमा चेतनाको कमी र सामान्य त्रुटिका कारण पनि ठूला ठूला वित्तीय अपराध भइरहेकाले विद्यालयस्तरमा आयोजना हुने यस्ता कार्यक्रमले विद्यार्थीमात्र नभएर उनीहरुका अभिभावकसम्म जनचेतना फैलाउन महत्वपूर्ण भूमिका निवार्ह गर्ने विश्वास व्यक्त गरे ।

त्यसैगरी कार्यक्रममा बोल्दै माछापुच्छ्रेका अध्यक्ष एवं गैरआवासीय संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले विभिन्न तहका विद्यार्थीको पाठ्यपुस्तकमा बैंकिङ शिक्षासँग सम्बन्धित विभिन्न जानकारी समावेश गर्न सकेको खण्डमा अझ उपर्युक्त हुने भन्दै यसका लागि पहल थालिनुपर्नेमा जोड दिए । महतोले सैद्धान्तिकभन्दा पनि व्यवहारिक शिक्षामा जोड दिनुपर्ने आजको आवश्यकता रहेको बताए ।

सोही कार्यक्रममा बोल्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का अध्यक्ष ढुंगानाले प्याब्सनले आफ्नो शैक्षिक क्यालेण्डरमा समेत बैंकिङ शिक्षालगायतका विषयलाई समावेश गरेको जानकारी गराउँदै माछापुच्छ्रे बैंक र प्याब्सनबीचको सम्झौताले बैंकिङ शिक्षालाई गाउँगाउँसम्म पुर्याउन र पछिल्लो समय डिजिटल कारोबार बढेसँगै बढ्दै गइरहेका डिजिटल अपराधहरुलाई न्यूनीकरण गर्न निकै ठूलो भुमिका खेल्ने बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले अहिले बैंकिङ उद्योगको मुख्य चुनौतीको रुपमा रहेको डिजिटल अपराधलाई कम गर्नका लागि बैंकले प्याब्सनसँग सहकार्य गरेको जानकारी गराउँदै उक्त सम्झौताको माध्यमबाट बैंक अझ बृहतरुपमा आम जनमानसमा सचेतना जगाउन सफल हुने र यस्ता सचेतनामूलक कार्यक्रमहरुलाई आगामी दिनमा पनि अझ प्रभावकारीरुपमा अगाडि बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।

प्याब्सनसँग सम्बद्ध व्यक्तिहरु तथा बैंकका उच्चपदस्थ कर्मचारीहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा माछापुच्छ«े बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सर्जुकुमार थापाले स्वागत मन्तव्य राखेका थिए । उक्त सम्झौतापश्चात प्याब्सनसँगको सहकार्यमा अब बैंकले वित्तीय साक्षरता, डिजिटल अपराधबारे सचेतनामूलक कार्यक्रम देशव्यापीरुपमा सञ्चालन गर्नेछ भने प्याब्सनले आफूसँग आबद्ध शैक्षिक संस्थालाई समन्वय र सहजीकरण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्