Logo
Logo

एसएसपी घरबाटै निकाला ?



काठमाडौं । महिला प्रहरीलाई ‘गुड फ्राइडे’ मनायौं भनेर प्रस्ताव राख्दा नेपाल प्रहरीका एसएसपी योगबहादुर पाल संगठनबाट निलम्बनमा मात्र परेनन् घरबाट समेत निकालामा परेका छन् । कहिल्यै नसुध्रिएको भन्दै उनलाई परिवारले नै बहिष्कार गरेका छन् ।

स्रोतका अनुसार पछिल्लो काण्ड बाहिर आएसँगै उनी घर जान पाएका छैनन् । सधैंभरी महिला काण्डमा परेको भन्दै श्रीमती लगायतले उनलाई सजाय स्वरुप घर जान नदिएका हुन् । घरबाटै आफुलाई निकाला भएको भन्दै पाल साथीभाईसँग सहयोग माग्न थालेका छन् ।

गत १९ जेठमा उनले महेन्द्रनगरस्थित कार्यालयमा एक महिला हवल्दारलाई आफ्नो क्वार्टरमा बोलाएर गुड फ्राइडे मनाऔँ भन्दै फकाएका थिए । प्रतिकार गर्दै उनले एसएसपी पालविरुद्ध उजुरी गरिन् । त्यही दिन उनलाई नेपाल प्रहरी प्रदेश कार्यालय, महेन्द्रनगरबाट हटाइएको थियो । प्रदेश कार्यालयका एसपी श्यामसिंह चौधरीको नेतृत्वमा छानबिन समिति गठन भयो । समितिले एसएसपी पालबाट दुव्र्यवहार भएको निष्कर्ष निकाल्दै उनलाई कारबाही सिफारिस गरेको थियो ।

सोही आधारमा उनी निलम्बनमा परेका हुन् । त्यसो त कारबाहीबाट जोगिन महिला प्रहरीलाई फकाउनेदेखि नेताबाट आइजिपीलाई दबाब दिनेसम्मका काम गरे । तर, गम्भीर किसिमको घटना भएकाले प्रहरी नेतृत्वले सम्झौता गरेन ।

त्यसो त उनको पृष्ठभूमिका कारण पनि उनी यसपटक जोगिन नसकेका हुन् । २०७१ सालमा सोलुखुम्बुका डिएसपी थिए । जिल्लामै कार्यरत एक कर्मचारीकी छोरीसँगै सोलुखुम्बु जाने क्रममा उनले कुदृष्टि लगाएका थिए ।

तत्कालीन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले पाललाई त्यतिबेला नै जागिरबाट हटाउन लागेका थिए । तर, पालकी श्रीमतीले अर्याललाई भेटेर रोइकराई गरी आफुले सुधार्ने प्रतिबद्धता व्यक्त गरी जागिर जोगाइदिएकी थिइन् । तर, त्यसपछि पनि पालको व्यवहार सुध्रिएन । हरेक कार्यालयमा उनको आचरण उस्तै रह्यो । जसकारण परिवारबाटै उनी यतीबेला बहिष्कारमा परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्