
काठमाडौं । सरकारले अखण्ड भारत सम्बन्धी नक्साको वास्तविकता बुझेर रिपोर्ट बुझाउन दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन दिएको छ ।
मंगलबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री साउदले भारतले नयाँ संसद् भवन भित्र राखेको अखण्ड भारतको नक्साबारे बुझ्न त्यहाँको नेपाली दूतावासलाई निर्देशन दिइएको बताएका हुन् ।
मन्त्री साउदले सरकार नेपालको नक्साको बारेमा स्पष्ट रहेको पनि जिकिर गरे । उनले नेपालको नक्सा के हो भन्ने कुरा २०७७ असार ४ गते संविधानमा दोस्रो संशोधन गरेर सर्वसम्मतिमा नयाँ नक्सा समेटेर संविधानको अनुसूची ३ मा नेपालको निसाना छाप अद्यावधिक गरिएको तथ्य सबैमा जानकारी रहेको बताए ।











