
विराटनगर, २६ मंसिर । उधौली पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीप्रति प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले शुभकामना व्यक्त गरेका छन् ।
उनले बिहीबार विज्ञप्तिमार्फत शुभकामना व्यक्त गरेका हुन् । मुख्यमन्त्रीले विज्ञप्तिमा किरात समुदायको महान पर्व उधौलीजस्ता पर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता तथा साझा नेपाली पहिचान कायम गर्न महत्वपूर्ण योगदान गरेको उल्लेख छ ।
यस प्रकारका मौलिक सांस्कृतिक पर्वले सामाजिक एवं पारिवारिक जमघट गराउने र समुदायबीचमा आपसी सद्भाव सुमधुर बनाउन सहयोग सन्देशमा उल्लेख छ । मुख्यमन्त्री राईको सन्देशमा भनिएको छ, ‘धार्मिक तथा सांस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा मनाइने यस्ता चाडपर्वहरुका माध्यमबाट कायम हुने एकता तथा सामाजिक सद्भावलाई दिगो र दरिलो बनाउनेतर्फ लाग्नु हामी सबैको कर्तव्य हो ।’











