Logo
Logo

समाजवादी मोर्चाको के अर्थ, किन व्यर्थ ?



काठमाडौं । परिवर्तनको रक्षा र लोकतन्त्रको सुदृढीकरणको नारासहित सरकारको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रसहितका चार दलले गत सोमबार समाजवादी मोर्चा घोषणा गरे ।

उक्त मोर्चामा सत्तारुढ तीन दल माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) सहभागी छन् । भविष्यमा पार्टी एकताको उद्देश्यसहित घोषणा गरिएको मोर्चामा संसदीय व्यवस्थालाई इन्कार गर्दै आएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा पनि सामेल छ ।

मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी मोर्चा राजनीतिक परिवर्तनविरुद्ध लाग्नेहरूका निम्ति युद्ध थालेको उद्घोष गरे ।

उनले मोर्चा पहिलो पाइला भएको र सबै सकारात्मक शक्तिहरूलाई एकताबद्ध गरेर अगाडि जाने प्रक्रियाको सुरुवात भएको बताए । ‘यो समाजवादी मोर्चा पहिलो पाइला हो । अन्तिम होइन,’ उनले भने, ‘यहाँबाट एउटा नयाँ अभियान, एउटा नयाँ युगतिर देशलाई लैजाने, सामाजिक न्याय, सुशासन र समृद्धिको नयाँ युगतिर देशलाई लैजाने, सबै सकारात्मक शक्तिहरूलाई एकताबद्ध गरेर अगाडि जाने प्रक्रियाको सुरुवात भएको छ ।’

समाजवादी मोर्चा घोषणा भएसँगै किन चाहियो मोर्चा ? मोर्चाले सत्तारुढ दलमा कस्तो असर पर्ला ? राजनीतिमा यसको अर्थ कस्तो रहला र मोर्चा पार्टीमा रूपान्तरण हुन्छ कि हुँदैन ? भन्ने चासोको विषय बनेको छ ।

घोषणा सभामा नेताहरूले गरेको भाषण पत्याउने हो भने नेपालमा समाजवाद आएपछि मात्रै मोर्चाले विश्राम लिनेछ । तर, गठन गर्नुका प्रष्ट आधारहरू नभएकाले यसको दीर्घकालीन अस्तित्वको विषयमा शंका पनि उब्जाउँछ ।

यसअघि पनि मुलुकमा एउटै कम्युनिष्ट पार्टी बनाउने महत्त्वाकांक्षी लक्ष्यसहित नेपालका दुई ठूला कम्युनिष्ट पार्टी एमाले र माओवादीले मिलेर ‘नेकपा’ बनेको थियो । हतारहतार एकता घोषणा गरिएको तत्कालीन नेकपा तीन वर्ष नपुग्दै तीन टुक्रा बन्यो । एमाले र माओवादी त पहिलाकै स्थितिमा फर्कियो फिर्कियो, नेकपा एकीकृत समाजवादी पार्टी समेत बन्यो ।

त्यसकारण पनि समाजवादी मोर्चा पनि कति टिक्लान् र ? भन्ने धेरैले आशङ्का व्यक्त गरिरहेका छन् । नेकपा जस्तै त होलान् भन्ने धेरैको सोचाइ छ । अर्कोतिर सत्ता गठबन्धन हुँदाहुँदै किन मोर्चा चाहियो भन्ने प्रश्न पनि उठेको छ ।

किन चाहियो मोर्चा ?
आम चर्चालाई ध्यान दिने हो भने समाजवादी मोर्चामा जोडिएका चार दल र तिनका नेताप्रति आकर्षण घट्दो छ । पार्टीगत मात्रै नभएर व्यक्तिगत संकट पनि छँदैछ । त्यही संकट टार्न मोर्चाबन्दी गरेको राजनीतिक विश्लेषक तथा प्राध्यापक कृष्ण खनाल बताउँछन् । मोर्चा पावर गेनका साथै कम्युनिष्ट टुटफुट र मोर्चाबन्दीको परम्पराको निरन्तरता भएको उनको विश्लेषण छ ।

दृष्टिन्यूजसँग कुरा गर्दै उनले भने– ‘अहिले अस्तित्वको सवाल छ । मोर्चाबन्दी गर्दा बार्गेनिङ पावर बढ्छ । पावर गेनको लागि मात्रै यो मोर्चा बनेको हो, यहाँ कुनै वैचारिक मेल खाएको छैन । संयुक्त रुपमा आउँदा केही हुन्छ भन्ने बुझाइ होला, नेपालको कम्युनिष्टमा टुटफुट र मोर्चाबन्दीको त परम्परा नै छ । यो त्यसै परम्पराको निरन्तरता हो ।’

त्यस्तै नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलको बुझाइ पनि खनालको जस्तै छ । माओवादी केन्द्र र एकीकृत समाजवादी कमजोर हुँदै गएकाले आफूहरूलाई बलियो देखाउन मोर्चा घोषणा गरेको उनको तर्क छ । सत्ता जोगाइराख्नका लागि मात्रै मोर्चा गठन गरिएको पौडेल बताउँछन् ।

उनी भन्छन्– ‘समाजवादी मोर्चा बनाउनु कुनै नयाँ कुरा होइन । यस्तो मोर्चा पहिलोदेखि नै बन्ने गरेको छ । सत्ता गठबन्धनभित्रै मोर्चा बनाएका हुनेले यसलाई अलि नौलो मानियो होला । यो सत्ता जोगाइराख्नको लागि मात्रै हो । माओवादी र एकीकृत समाजवादी दुवै कमजोर हुँदै गएकाले आफू बलियो देखाउन बनाइएको हो । विप्लवजीलाई भने शक्तिमा आउने एउटा बाटो बन्यो ।’

यता, माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेको बुझाइ पनि खनाल र पौडेलको भन्दा खासै फरक छैन । वैचारिक र संगठनात्मक रुपमा संकट परेकाले मोर्चाको आवश्यकता भएको उनी बताउँछन् । ‘वैचारिक र संगठनात्मक रुपमा संकट परेकाले समाजवादी मोर्चाको आवश्यकता परेको हो । यसको सबैभन्दा जरुरी त बाबुराम नेतृत्वको नेसापलाई थियो । तर उहाँ किन सामेल हुनु भएन भन्ने मलाई थाहा भएन,’ उनले भने ।

मोर्चाले सत्तारुढ दलमा कस्तो असर पार्ला ?
यो मोर्चाले सत्तारुढ दलमा कस्तो असर गर्छ ? भन्ने सबैको चासोको विषय बनेको छ । यसले सत्ता गठबन्धनमै खटपट त ल्याउने होइन भन्ने आशंका पनि छ । सत्तारुढ दलका नेताहरू पनि मोर्चाले गठबन्धनका कुनै असर नगर्ने दाबी गर्छन् ।

मोर्चाले सत्ता गठबन्धनमा केही फरक नपार्ने कांग्रेस नेता पौडेल बताउँछन् । उनी भन्छन्–‘मोर्चाले सत्ता गठबन्धनमा केही फरक पार्दैन । मोर्चाले सत्ता गठबन्धनको साझा एजेण्डा मान्दिनँ भनेको छैन । विचार मिल्नेको मोर्चाभन्दा पनि व्यक्ति मिल्नेको मोर्चा हो । यसले गठबन्धनभित्र त्यस्तो प्रभाव पार्छ भन्ने मलाई लाग्दैन । पछि मुद्दा र विचार फरक हुँदै गयो, गठबन्धनको साझा मुद्दा र उद्देश्यलाई नै मान्दैनौं भन्न थाल्यो भने फरक कुरा हो । अहिले यसलाई सामान्य रुपमा लिनुपर्छ ।’

मोर्चाबारे कांग्रेस स्पष्ट नै भएको माओवादी नेता न्यौपाने बताउँछन् । कांग्रेसको मोर्चाबारे सोचाइ र माओवादीको बुझाइ मेल खान्छ । न्यौपाने भन्छन्– ‘कांग्रेसले पनि हाम्रो विरुद्ध होइन भन्ने बुझेको भन्ने मलाई लाग्छ । र, कांग्रेसविरुद्ध पनि होइन । अहिले सबै एकजुट हुनुपर्ने आवश्यकता भएकाले मात्रै मोर्चा बनाइएको हो ।’

तर, राजनीतिक विश्लेषक प्राध्यापक खनाल भने गठबन्धनकै भर नभएको बताउँछन् । उनी भन्छन्– ‘मोर्चा बनाउनु नराम्रो कुरा होइन तर यो कति दीर्घकालीन छ भन्ने महत्वपूर्ण कुरा हो । मोर्चा नै टिक्छ कि टिक्दैन भन्ने छ । मोर्चा मात्रै होइन यो गठबन्धनको पनि भर छैन,
।’

पार्टीमा रूपान्तरण होला ?
मोर्चाको उद्देश्य प्रचण्डको सत्ता टिकाउन मात्रै केन्द्रित हुन्छ या पार्टीमा रूपान्तरण हुन्छ ? भन्ने आम चासोको विषय बनेको छ । समाजवादी मोर्चा घोषणा गरेसँगै प्रचण्ड र विप्लव निकटता पनि बढ्दै गएको छ । त्यसैअनुसार बिहीबार बिहान प्रचण्ड–विप्लवबीच मोर्चालाई कसरी प्रभावकारी बनाउने, माओवादी आन्दोलनको उपलब्धीको रक्षा र पार्टी एकताबारे गम्भीर छलफल भयो ।

चार दलले राजनीतिक स्थिरताका लागि मोर्चा घोषणा गरेको दाबी गर्दै आएका छन् । तत्काल पार्टी एकता सम्भव नभएकाले मोर्चा बनाएको उनीहरूको भनाइ छ । प्रधानमन्त्री प्रचण्डले पनि मोर्चाले अगाडिको बाटो खनेको बताउँदै आएका छन् । उनले मोर्चा हुँदै नेकपातिर फर्कने भन्दै त्यसका सबैलाई अपिलसमेत गरिसकेका छन् ।

मोर्चाको उद्देश्य कम्युनिष्ट एकताकै सुरुवात भएको माओवादी नेता न्यौपाने बताउँछन् । उनी भन्छन्– ‘यी चार पार्टीको मात्रै होइन कम्युनिष्टमा सिद्धान्तमा विश्वास गर्नेहरू सबै एकजुट हुनुपर्ने स्थिति छ । फेरि वाम एकता नै गर्नुपर्छ । अब पनि एकजुट भइन भने वाम आन्दोलन बङ्गालको खाँडीतिर पुग्ने देखिन्छ । यो मोर्चाले वैचारिक रुपमा सबैलाई एकता नगरे तापनि चुनावमा भने अर्थ राख्छ । वैचारिक एकताको लागि वाम एकता नै गर्नुपर्छ ।’

तर, विश्लेषक खनाल भने मोर्चा पार्टीमै रूपान्तरण हुने त सोच्न पनि नसकिने बताउँछन् । मोर्चा पार्टीमै रूपान्तरण हुने सम्भावना कतिको छ ? भन्ने प्रश्नमा उनी भन्छन्– ‘म त मोर्चा नै टिक्छ भन्ने देख्दिनँ, पार्टीमै रूपान्तरण हुन्छ भन्ने त सोच्न पनि सक्दिनँ । तपाईंको प्रश्न सुन्दा पनि मजाक गर्नुभएजस्तो महसुस भयो ।’

फेरि नेकपा ब्युँताउन कति सहज ?
समाजवादी मोर्चाको उद्देश्य वाम एकतासम्मै भएको बताइन्छ । वामदेव गौतमले त नेकपा एकताको कुरा गरेर अभियान चलाएका थिए ।

गौतमपछि एमालेमा छँदै घनश्याम भुसालले पनि नेकपा ब्यूँताउने कुरा गरेका थिए । पहिलोपटक ८ चैत २०७८ मा औपचारिक रुपमा भुसालले नेताहरूलाई त्यसका लागि आह्वान गरेका थिए । त्यसपछि पनि उनी यसबारे बोलिरहे । गत २९ पुसमा औपचारिक कार्यक्रम गरेर एकीकृत समाजवादी प्रवेशको घोषणा गर्दा पनि भूसालले त्यसलाई दोर्होयाएका थिए ।

त्यसपछि राष्ट्रपति निर्वाचनताका माधव नेपालले पनि नेकपा ब्यूँताउनुपर्ने बताएका थिए । गत वैशाखमा विप्लव नेतृत्वको नेकपाले खुलामञ्चमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनेका थिए– ‘हामी अलग अलग बस्दा शक्ति छरिएको हुन्छ । त्यसले गर्दा प्रतिक्रियावादीहरूले अवसर पाउँछ । त्यसकारण हामी मिल्नुपर्छ । एकैठाउँमा आउनुपर्छ ।’

प्रधानमन्त्री प्रचण्डले पनि हजारौँको बलिदान र दशकौँको संघर्षबाट प्राप्त उपलब्धहरूमाथि प्रहार गर्ने दुस्साहस भएकाले पुनः नेकपा ब्युँताउनुपर्ने बताउँदै आएका छन् । नेकपा ब्युँताउने प्रस्तावमा भने एमालेले प्रतिक्रिया जनाइसकेको छैन ।

तर, विश्लेषक खनाल भने पुनः नेकपा ब्युँताउने कुरा जग हँसाउने कुरा मात्रै भएको बताउँछन् । नेपालका कम्युनिष्टहरू नामका मात्रै कम्युनिष्ट भएको केही सिद्धान्त नमिल्ने उनको तर्क छ ।

उनी भन्छन्– ‘अब फेरि कम्युनिष्ट एकता कुरा नउठाए पनि हुन्छ । यो त जग हँसाइको कुरा मात्रै हो । जनताले कम्युनिष्टहरूलाई बुझिसके, चिनिसके । कम्युनिष्ट कम्युनिष्ट भनेर मात्रै हुँदै सिद्धान्त पनि मिल्नुपर्यो । नेपालका कम्युनिष्टहरू नामका मात्रै हुन् ।’

प्रतिक्रिया दिनुहोस्