Logo
Logo

अख्तियारको नाम बेच्दै


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १ पुस । बाराको महागढीमाईको गंजभवानीपुरमा होटल संचालन गर्ने अजय जयसवालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै बदनाम गर्दैआएका छन् । अख्तियारको हेटौंडास्थित कार्यालयका डीएसपी केशव भट्टराईसहितका केही अधिकृतहरुलाई प्रलोभनमा पारी उनले बाराका कर्मचारीदेखि प्रहरीलाई समेत तर्साउने र उनको गलत काममा दख्खल दिएमा फसाउने गरेका छन् । हुक गरेर बिजुली चोरी गरी बर्षौदेखि होटल संचालन गरेका जयसवाललाई मिटर जडान गरी बत्तीको पैसा तिर्न आग्रह गर्ने गर्ने एक मिटर रिडरलाई पनि उनले षडयन्त्रमूलक ढगले फोन रेकर्ड गरी फसाएका छन् । कलैया बितरण केन्द्रका करारका मिटर रिडर मिश्रीप्रसाद यादवले जयसवाललाई विजुली चोरी नगर्न र मिटर जडान गर्नका लागि आग्रह गरेका थिए ।

मिश्रले कलैया बितरण केन्द्रका प्रमुखसँग कुरा मिलाइदिन्छु, मिटर जडान गरी महसुल तिरी बत्ती बाल्नुस् भनेका थिए । तर त्यो कुरा रेकर्ड गरी बितरण केन्द्रका कर्मचारीलाई मिश्रीप्रसाद यादवले पैसा मागेको भनेर लगेर दिन खोजेका थिए । तर यादवले श्यामबाबु साह र जयसवाल मिलेर आफूसँग फोनमा कुरा गरी रेकर्ड गरेर अख्तियारमा उक्त रेकर्ड दिई आफूलाई अख्तियारबाट पत्र पठाउन लगाएको गुनासो प्राधिकरणका सहकर्मीहरुसँग गर्दैआएका छन् । तिनै होटल संचालक जयसवालले हेटौंडाको अख्तियारमा दिएको रेकर्डका आधारमा अख्तियारको टंगालस्थित केन्द्रीय कार्यालयले मिश्रीप्रसाद यादवलाई २०७६ मंसिर २३ गते ७ दिनको म्याद दिएर उपस्थित हुन सूचना जारी गरेको छ । मिश्री यादवले करारमा मिटर रिडरको जागिर बल्ल बल्ल पाएको र परिवारको हातमुख जेनतेन जोर्दैआएका थिए । जेनतेन जीवन धान्दैआएका मिश्री होटल संचालक अजयको षडयन्त्रको शिकार भएको विद्युत प्राधिकरण कलैया शाखाका एक कर्मचारी बताउँछन् । विद्युत चोरी गर्ने होटल संचालकलाई मिटर राखेर पैसा तिर्नू भन्ने मिश्रलाई हेटौंडा अख्तियारका प्रहरी अधिकृतले पत्र काट्न लगाएका छन् । तर विद्युत चोरी गरी लाखौंको महशुल घाटा पार्ने अजय जयसवाललाई संरक्षण गरेका छन् । तिनै जयसवालको इशारामा बाराका धेरै कर्मचारीलाई अख्तियारले दुःख दिने गरेको छ ।

होटलमा युवती राखी गलत कर्म समेत गराउँदैआएको आरोप लागेका जयसवालले आफ्नो इशारा अनुसार नचल्ने प्रहरीलाई समेत फसाउने गरेका छन् । उनले २०७६ कात्तिक १४ गते बाराको गञ्जभवानीपुर प्रहरी चौकीका प्रहरी नायब निरीक्षक (सई) जटाशंकरप्रसाद कलवारलाई अख्तियार बोलाएर जबर्जस्ती ६० हजार रुपैयाँ घुस घुस गोजीमा हाली पक्राउ गर्न लगाएका छन् । सई जटाशंकरले उनले होटलमा युवती राखी गलत कार्य गर्न लगाएकोबारेमा छापा हानेपछि त्यसको प्रतिशोध साँध्न अख्तियार प्रयोग गरी पक्राउ गर्न लगाएका थिए । जयसवालले सई कलवारलाई पक्राउ गराएपछि बारा प्रहरीका हाकिमसमेत उनको अख्तियारसम्म पहुँच देखेर जे जस्ता अमर्यादित गतिविधि गरे पनि उनको होटलमा जाने हिम्मत गर्न सक्दैनन् । यस्ता बदनाम पात्र अजय जयसवालसँग हेटौंडा अख्तियारका कुन कुन हाकिमको सम्बन्ध छ भन्नेबारेमा अख्तियारबाटै छानबिन हुनुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्