Logo
Logo

भैरहवाको अर्को आकर्षण भाटभटेनी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १ पुस । मंसिर २७ गते शुक्रबार । पानी परिरहेको मौसम थियो । भैरहवा बजारको मौसम एकाएक चिसो भयो । तर, भर्खरै खुलेको भाटभटेनी सुपर स्टोरको वातावरण भने गर्मी थियो । भैरहवाका स्थानीयवासीलाई भाटभटेनी जाने हतारो थियो । स्टोरको भित्र पनि ग्राहकहरुले खचाखच भरिएको थियो । बाहिर पनि सेल्फी खिच्ने युवाहरुको भीड थियो ।

मंसिर २६ गते १७ औँ शाखाको रुपमा भैरहवा बजारमा एउटा आकर्षण थपियो भाटभटेनी । मुख्यद्वारमा मीनबहादुर गुरुङ र उनको परिवार अतिथिलाई स्वागत गर्न बसेका थिए । अतिथिको स्वागत सम्मानका लागि नेवारी पोशाकसहितको सांस्कृतिक बाजा बजाइएको थियो ।

त्यस दिन गुरुङले नौतनवा र गोरखपुरका भारतीय व्यापारीहरुलाई आमन्त्रण गरेका थिए । तिनै पाहुनाको स्वागतका लागि गुरुङ परिवार मूलद्वारमै उपस्थित थिए ।

बुटवल, भैरहवा र पाल्पाका लागि भारतीय बजार सुनौली, नौतनवा र गोरखपुर पानी पँधेरो जस्तै थियो । एक किलो चिनी, दाल, चामल किन्न पनि नेपालीहरु सीमापारिका बजार जान्थे । यो आजको कुरा होइन, पचासौँ वर्षदेखि सीमा नजिकका व्यापार नेपालीले धानेका थिए ।

अब समय फेरिएको छ । भाटभटेनी जस्तो विशाल र सुविधासम्पन्न स्टोर सुनौली, नौतनवा र गोरखपुरमा पनि छैन । त्यसैले भारतीय उपभोक्ताका लागि भैरहवामा खुलेको भाटभटेनी एउटा गन्तव्य बनेको छ । नौतनवा, गोरखपुरसम्म भाटभटेनीको चर्चा सुरु भएको छ ।

दुईतले ‘बेसमेन्ट’ पार्किङदेखि माथिल्लो भाग छ तलासम्म छ भाटभटेनीको व्यापारिक भवन । १ लाख ३५ हजार स्क्वायर फिट ओगटेको भाटभटेनीको छैटौँ तल्लामा दुईवटा क्युएफएक्स वातानुकूलित सिनेमा हल बन्दैछ । यो अर्को आकर्षण हो भैरहवाका लागि । कुनै जमाना थियो, नयाँ नयाँ हिन्दी सिनेमा हेर्न त्यस क्षेत्रका बासिन्दा नौतनवा, गोरखपुर पुग्थे । फर्कदा खाद्यान्न, लत्ताकपडा बोकेर फर्कन्थे । अब समय फेरिएको छ । भारतीय बासिन्दा सिनेमा हेर्न अब भैरहवा आउनेछन् । फर्कदा आफूलाई मनपर्ने विदेशी लत्ताकपडा बोकेर फर्कनेछन् ।

भैरहवाको भाटभटेनी स्टोरमा ३५० जना कर्मचारी छन् । जसमा ९० प्रतिशत महिला कर्मचारी छन् । भैरहवापछि नेपालगञ्जमा भाटभटेनीको १८ औँ स्टोर खुल्दैछ । ५० हजार नेपाली युवाहरुलाई रोजगारी दिने भाटभटेनीको लक्ष्य छ । सबैभन्दा बढी आयकर तिर्ने व्यक्तिको रुपमा मीनबहादुर गुरुङ सम्मानित हुने उनको उद्देश्य छ । टिडिएस, भ्याट, भन्सार आदि गरेर भाटभटेनीले मात्रै सरकारलाई वार्षिक एक अर्बभन्दा बढी राजस्व तिर्छ ।

पछिल्लोपटक भाटभटेनीले विराटनगर, भैरहवा र नेपालगन्जजस्तो भारतसँग सीमा जोडिएका शहरमा आफ्नो स्टोर खोलेर नेपाली ग्राहकहरुलाई सुविधा त दिएकै छ । त्यो भन्दा ठूलो कुरा सीमा व्यापारमा हुने दैनिक लाखौँलाख रुपैयाँको कारोबार अब आफ्नै देशमा हुने भएको छ । तुलनात्मक रुपमा भारतीय बजारको तुलनामा भाटभटेनीले सस्तो मूल्यमा खाद्यान्न, कपडा र अन्य सामग्री उपलब्ध गराएको कारण सीमापारिका उपभोक्ताहरुको समेत भाटभटेनी रोजाइमा परेको छ ।

बिहीबारदेखि सञ्चालनमा आएको भाटभटेनीमा शनिबारसम्म ३५ हजार ५ सय उपभोक्ताले चार करोड १४ लाख (मुअकरसहित) बराबरको सामान खरिद गरेको भाटभटेनीका सञ्चालन मीनबहादुर गुरुङले बताए । बिहीबार ११ हजार ५ सय उपभोक्ताले १ करोड ४१ लाखको खरिद गरेको दिन ५० हजार सर्वसाधारणले भाटभटेनीको अवलोकन गरेका थिए । त्यस्तै सञ्चालनको दोस्रो दिन ९ हजार उपभोक्ताले एक करोड ९ लाख रुपैयाँको खरिद गरेको दिन ३५ हजार सर्वसाधारण र तेस्रो दिन १५ हजार उपभोक्ताले एक करोड ६४ लाखको खरिद गरेको दिन ६० हजार सर्वसाधारण भाटभटेनीको अवलोकन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्