
काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जनताप्रति उत्तरदायी र जवाफदेहितालाई पथ प्रदर्शकको रूपमा लिनुपर्ने बताएका छन् ।
संसद् दिवस–२०८० को अवसरमा शुभकामना दिँदै उनले बहुदलीय व्यवस्थामा राजनीतिक दल नै संवैधानिक र संसदीय अभ्यासका असली सञ्चालक भएको भन्दै संसद्मा उपस्थित सबै राजनीतिक दल र सदस्यबाट असल संवैधानिक र संसदीय अभ्यासको अपेक्षा गरेको बताएका हुन् ।
‘राजनीतिक दलहरूको आपसी सद्भाव, सहमति र समन्वयमा नै संसद्को गतिशीलता र क्रियाशीलता निर्भर रहन्छ,’ उनले भनेका छन्, ‘त्यसैले संसद्मा उपस्थित सबै राजनीतिक दल र सदस्यहरूबाट असल संवैधानिक र संसदीय अभ्यासको अपेक्षा गर्छु ।’
नेपालमा विसं २०१६ असार १६ गते संसद्को पहिलो बैठक बसेको ऐतिहासिक दिनको स्मरण गर्दै वर्षेनी आजका दिनलाई संसद् दिवसका रुपमा मनाइँदै आएको छ ।











