
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले भ्रष्टाचारविरूद्धको अनुसन्धान कार्यले थप तीब्रता पाउने बताएका छन् ।
शनिबार दिउँसो पोखराका सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । ‘भ्रष्टाचार देशको बिकराल समस्या हो । नक्कली भुटानी शरणार्थी प्रकरण होस् वा ललिता निवास प्रकरण होस्, यसमा सरकार दृढताका साथ अगाडि बढेको छ । थप तीव्रताका साथ अघि बढ्छ,’ उनले भने ।
श्रीलंकको बाटोमा गइरहेको अर्थतन्त्र विस्तारै लयमा फर्किएको उनको भनाई थियो । ‘श्रीलंकको बाटोमा गइरहेको अर्थतन्त्र धरासायी नै हुन्छ कि भन्ने थियो । तर, अर्थतन्त्र बिस्तारै लयमा फर्किएको छ। यसपटकको भारत भ्रमण ऐतिहासक भएको छ । राष्ट्रको हितमा भारतसँग धेरै महत्त्वपूर्ण समझदारी भएका छन्। भारतीय प्रधानमन्त्रीले आफै सीमा समस्या हल गरिन्छ भन्ने कुरा ठूलो विषय हो।यसअघि भारतका कार्यकारी प्रमुखले यसबारे बोलेका छैन,’ उनले भने ।










