काठमाडौं । उपसभामुख इन्दिरा रानाले संसद भवनमा आफ्नो तस्बिर नराखिएकामा असन्तुष्टि व्यक्त गरेकी छन् । संसदमा सभामुखको मात्र तस्बिर राखिएको भन्दै उनले आफ्नो तस्बिर नराख्दा अपमानित भएजस्तो लागेको बताएकी हुन् ।

शनिबार ६५औं संसद दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, ‘भित्र पस्नेबित्तिकै त्यहाँ सम्माननीय सभामुखज्यूको यत्रो फोटो राख्नुभएको छ । हाम्रो त छैन । उपसभामुखलाई वायस गरेको जस्तो पनि लाग्छ । यो कुरा मनन गर्नुपर्छ ।’
उनले आफू केही समयअघि सिंगापुरको संसद भवनमा गरेको भ्रमण गरेको बताउँदै संसदमा राखिएका सभामुखका तस्बिरबारे उनले भनिन्, ‘अस्ति म सिंगापुर गएको थिएँ । डब्ल्युटिओको कन्फ्रेन्समा । त्यहाँ पार्लियामेन्ट भिजिट गर्ने मौका पाएको थिएँ । त्यहाँ पहिलाका सभामुखज्यूले कस्तो टोपी लगाउनुहुन्थ्यो, कस्तो लुगा लगाउनुहुन्थ्यो ? अहिलेका सभामुखज्यूले कस्तो लगाउनुहुन्छ ? त्यो विकास क्रमअनुसार त्यसरी राख्नुभएको छ अभिलेखका रुपमा । हामीमा खै त त्यस्तो ?’
नेपालमा पनि अहिलेसम्मका सभामुखहरुको तस्बिर राख्नुपर्ने धारणा व्यक्त गरिन् ।










