
काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेटमा आज नेपालले संयुक्त अबर इमिरेट्स यूएईसँग प्लेअफ चरणको खेल खेल्दैछ । उक्त खेलमा टस जितेको नेपालले पहिलो बलिङ गर्ने भएको छ ।
यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको नेपालले सातौँ वरीयताका लागि यूएईसँग भिडन्त गर्न लागेको हो । उक्त खेलमा विजयी हुने टोलीले आगामी मंगलबार आयरल्यान्डसँग सातौँ वरीयताका लागि प्रतिस्पर्धा गर्नेछ । आयरल्यान्डविरुद्धको खेलमा विजयी हुने टोलीले सातौँ र पराजित हुने टोलीले आठौँ वरीयता प्राप्त गर्नेछ ।
यसैगरी नेपाल र यूएईबीचको खेलमा पराजित हुने टोलीले आगामी बिहीबार अमेरिकासँग नवौँ वरीयताका लागि प्रतिस्पर्धा गर्नेछ । अमेरिकाविरुद्वको खेलमा विजयी हुने टोलीले नवौँ र पराजित हुने टोलीले १०औँ वरीयता प्राप्त गर्नेछन् ।














