Logo
Logo

मुम्बईको समृद्धिलाई नजिकबाट नियाल्दा…


माधव पौडेल


माधव पौडेल

मुम्बई भारतको वैभवशाली सहर हो । मुम्बईलाई हिन्दी चलचित्र निर्माणको लागि प्रसिद्ध सहरका रुपमा लिइन्छ । भारतको महाराष्ट्रको राजधानी मुम्बई विकासका दृष्टिकोणले धेरै अगाडि छ । भारतको चर्चित र सम्पन्न राज्य महाराष्ट्रको विकास र समृद्धिका बारेमा हिन्दी पत्रपत्रिकामा पढिए पनि प्रत्यक्ष देख्ने अवसर जुटेको थिएन । यो पटक स्वतन्त्र युवा प्रजातान्त्रिक संघ, नेपालले नेपालका पत्रकारहरुलाई महाराष्ट्रको भ्रमण गराउँदा त्यहाँको विकासलाई नजिकैबाट अवलोकन गर्ने अवसर पाइयो ।
महाराष्ट्रको मुम्बई, कृषिका लागि चर्चित नासिक र पर्यटकीय सहर पूणेको यात्राका क्रममा त्यहाँको विकास र समृद्धि देख्दा मनै लोभियो । नेपालसँग सीमा जोडिएका बिहार र उत्तर प्रदेशसँग परिचित थियौं । तर बिहार र उत्तर प्रदेशको भन्दा सयौं गुणा विकास महाराष्ट्रमा भएको हेर्ने मौका मिल्यो ।

मुम्बईका अलावा हामी अनार, सरिफा र ऊखु जस्ता कृषि उत्पादनका दृष्टिकोणले प्रसिद्ध नासिकमा पनि पुग्यौं । त्यहाँको कृषि प्रणालीले आम किसानको जीवनस्तर नै माथि उठाउन सहयोग गरेको रहेछ । नासिकबाटै नेपाली कृषकहरुले अनार लगायतका फलफूलका बेर्ना वा बीउ ल्याउने गरेको सुनिएको थियो । नासिकमा महाराष्ट्र सरकारले नै कृषिको विकासका लागि आवश्यक सबै पूर्वाधार ब्यवस्था गरेको छ । फराकिला सडक छन् । उत्पादनसँगै बजारको सुनिश्चितता भएका कारण कृषिप्रति आकर्षण बढेको पाइयो ।

नासिकमै त्र्यम्बकेश्वर मन्दिर अर्को महत्वपूर्ण तीर्थस्थल रहेछ । त्र्यम्बकेश्वरमा भगवान शिव बास बसेका थिए भन्ने विश्वास गरिन्छ । धार्मिक दृष्टिकोणले शिरडीमा साईबाबाको समाधीस्थलको भ्रमणका क्रममा त्यहाँको विकास पनि हेर्ने मौका पाइयो । शिरडी साईबाबाको समाधीस्थलमा दर्शनका लागि अहिले पनि भक्तजनहरुको घुईचो नै देखिन्छ । शिरडी पनि विकासका दृष्टिकोणले समृद्ध रहेछ । सिरडी साईबाबाको समाधीस्थल विदेशी पर्यटकको पनि उत्तिकै आकर्षक गन्तब्य रहेछ ।

सपनाको सहर मुम्बईमा कलाकार हुने रहरले पुगेका हुन् वा रोजगारीका सिलसिलामा पुगेका हुन्, करिब १ लाख नेपाली रहेको मुम्बईबाट प्रकाशित हुने नेपाली भाषाको दैनिक पत्रिका नेपाल न्यूजका सम्पादक भूमिलाल पौडेल ‘प्रकाश’ले जानकारी दिए । पौडेलका अनुसार मुम्बईमा नेपाली कति छन् भन्ने एकीन तथ्यांक निकाल्न नसकिए पनि करिब १ लाख रहेको अनुमान छ । ती नेपालीमा १ प्रतिशतको अवस्था राम्रो रहेको र अरु बाँकी ९९ प्रतिशतको जीवन कष्टकर रहेको छ । मुम्बईमा सुदूरपश्चिम प्रदेशको अछामका नेपाली बढी छन् । अछामका पनि दलितको संख्या बढी रहेको छ । मुम्बईमा प्रवासी नेपालीहरुका ३२ वटा संस्था भए पनि दर्ता भएका संस्था थोरैमात्र रहेका छन् ।

नेपालका राजनीतिक दल निकट प्रवासी संगठनहरुमा एमाले, माओवादी केन्द्र र कांग्रेस निकट छन् । एमाले माओवादी एक भएर नेकपा बने पनि प्रवासमा एकता हुन नसकेको पौडेलले जानकारी दिए । उनले भने–माओवादी र एमालेको एकता हुन कठिन छ । उनीहरु एकअर्काको बिरोध गरिरहेका छन् । पछिल्लो समयमा मुम्बईमा थर र जाति विशेषका संगठन बढी खुल्न थालेका छन् ।

मुम्बईमा क्रियाशील नेपालीहरुको संगठनमध्ये मनकामना एकता फाउन्डेसनको आफ्नै कार्यालय रहेछ । फाउन्डेसन महाराष्ट्र सरकार अन्तर्गत दर्ता गरी संचालन भइरहेको छ । फाउन्डेसनले नेपालबाट गएका पत्रकारहरुको स्वागतमा एक कार्यक्रम आयोजना गरेको थियो । फाउन्डेसनका अध्यक्ष मोतिलाल न्यौपाने ३० बर्षदेखि मुम्बईमा ब्यवसाय गर्दछन् । उनी मुम्बईका सफल होटल ब्यवसायी हुुन् । उनले नेपाली पत्रकारहरुको स्वागत गर्दै भने, हामी जहाँ रहे पनि हाम्रो मन नेपालमै छ । मुम्बर्इृमा नेपालीका समस्या समाधानमा फाउन्डेसनले कानुनी लडाई लड्ने काम पनि गरेको छ ।

मुम्बईमा क्यान्सर लगायतका घातक रोगको शिकार भएर उपचार गर्न आएका नेपालीलाई पनि फाउन्डेसनले सहयोग गरेको छ । मानसिक रोग लागेर सडकमा भेटिएका इलामका एक नागरिकको बारेमा महाराष्ट्र प्रहरीले फाउन्डेसनलाई जानकारी दिएपछि उनको उपचार गरी उनको घर ठेगानामै पु¥याएको कुरासमेत शालिकराम तिवारीले जानकारी दिएका थिए । भूकम्पको बेलामा पनि फाउन्डेसनले आर्थिक संकलन गरी अध्यक्ष न्यौपानेको नेतृत्वमा सचिव उर्मिला क्षेत्री र सल्लाहकार सुशील थापालाई राहत सामग्री नेपालमा पठाएर बितरण गरेको थियो । बाटो खर्च नभएका नेपालीलाई नेपालमा पठाउन सहयोग गर्ने काम पनि फाउन्डेसनले गर्दैआएको छ ।

पूणेमा नेपालीहरु होटल ब्यवसायमा छन् । गुल्मीका राजु न्यौपाने पूणेका सफल होटल ब्यवसायी हुन् । उनका पूणेमा दुईवटा होटल छन् । ब्यापार राम्रो छ । उनले अपार्टमेन्ट खरिद गरेका छन् । आफ्नो गाउँ गुल्मीमा उनले बाख्रा पालनमा लगानी गरेका छन् । बीउका बोयर जातको १ सय ५० केजी हुने बोका उनले नासिकबाटै गल्मीमा लाने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्