Logo
Logo

एमालेले प्रधानमन्त्रीको अभिव्यक्तिको जवाफ माग्ने


1.3k
Shares

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्तिको विषयमा जवाफ माग्ने भएको छ ।

बुधबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डले सोमबार आयोजित एक कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउनका लागि भारतीय मूलका व्यापारी प्रितम सिंहले धेरै मिहिनेत गरेको भन्ने अभिव्यक्तिको विषयमा जवाफ माग्ने निर्णय गरेको हो ।

सोमबार पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह बारम्बार दिल्ली गएको बताएका थिए ।प्रधानमन्त्रीले आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै एमालेले प्रतिनिधिसभाको बैठकअघि संसदीय दलको आकस्मिक बैठक बोलाएको छ ।

बैठकपछि सञ्चारकर्मीहरूलाई एमाले सचेतक महेश बर्तौलाले भने, ‘ यो विषयलाई संसदीय दलको बैठकले गम्भीरतापूर्वक लिएको छ । प्रधानमन्त्री संसद, जनादेश, देशको सार्वभौमिकता र स्वभिमानमाथि गरेको अपमानको बारेमा दृढतापूर्वक संसद्‌मा कुरा उठाउँछौं ।’

प्रचण्डले पदमा बसिरहने राजनीतिक र नैतिक अधिकार गुमाएको पनि उनले बताए । आफूलाई नेपालको संसदले होइन, दिल्लीले प्रधानमन्त्री बनाएको अर्थ लाग्ने प्रधानमन्त्रीको अभिव्यक्ति सामान्य नभएको भन्दै उनले भने, ‘उहाँले राजनीतिक, नैतिक हिसाबले प्रधानमन्त्री पदमा बसिरहने आधार गुमाएको देख्छौं ।’

प्रतिक्रिया दिनुहोस्