हैटौंडा । बागमती प्रदेश सरकारले प्रदेश निजामती सेवा ऐनअनुसार आफू मातहत कर्मचारी बढुवा गरी सचिव बनाएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले पहिलो पटक प्रदेश निजामती सेवा ऐनअनुसार दशौं तहका कर्मचारीहरू चन्द्रप्रसाद लुइँटेल र पूर्णप्रसाद दर्जीलाई प्रशासन सेवातर्फ ११ औं तह (सचिवसरह)मा बढुवा गर्ने निर्णय गरेको हो ।

अधिकृत १०औँ तहमा कम्तीमा ५ वर्ष सेवा अवधि पूरा गरेकालाई अधिकृत ११औं तहमा बढुवा गर्न सक्ने ऐनको व्यवस्था छ । यसतै, अधिकृत ११औं तहको पदमा बढुवाका लागि प्रदेश लोकसेवा आयोग अध्यक्षको अध्यक्षतामा ५ सदस्यीय बढुवा सिफारिस समिति रहने व्यवस्था छ ।
बागमती सरकारले २०७९ फागुनमा ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन बनाएको थियो । सो ऐन फागुन १८ गते प्रदेश राजपत्रमा प्रकाशित भएको थियो ।
उक्त ऐनअनुसार बढुवा भएका सचिवहरूको पदावधि ५ वर्षको हुनेछ । लुइँटेललाई प्रदेशसभा सचिवको जिम्मेवारी दिइएको छ भने दर्जीलाई सामाजिक विकास मन्त्रालयअन्तर्गत शिक्षा विकास निर्देशनालयको जिम्मेवारी दिइएको छ ।
प्रदेश निजामती सेवा ऐनको दफा १५ मा अधिकृतस्तर ११औं तहको पदमा प्रदेश सरकार, मन्त्रिपरिषद्ले नियुक्ति र पदस्थापन गर्न सक्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार प्रदेश सरकारले पहिलो पटक आफू मातहत कर्मचारीलाई बढुवा गरेको भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले बताए ।










