वीरगञ्ज । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले चालू आर्थिक वर्षको १२ महिनामा झण्डै एक लाख ५५ हजार मेट्रिक टन रासायनिक मल ल्याएको छ । वीरगञ्जस्थित प्रादेशिक प्रमुख अमोज लामिछानेले जनाएअनुसार चालू आवमा साल्ट ट्रेडिङको प्रधान कार्यालय काठमाडौं मातहत विराटनगर, वीरगञ्ज र भैरहवा प्रादेशिक कार्यालयमार्फत उक्त मल भित्र्याइएको हो ।

चालू आवमा साल्ट ट्रेडिङले युरिया एक लाख ३१ हजार मेट्रिक टन, डिएपी ६५ हजार मेट्रिक टन, पोटास २५ सय मेट्रिक टन भित्र्याउनुपर्ने थियो । तर, साल्ट ट्रेडिङले युरिया एक लाख ११ हजार मेट्रिक टन, डिएपी ४५ हजार मेट्रिक टन भित्र्याएको हो ।
लामिछानेका अनुसार अब युरिया र डिएपी २०–२० हजार मेट्रिक टन र पोटास पूरै अर्थात् २५ सय मेट्रिक टन ल्याउन बाँकी रहेकोमा केही दिनमै ती मल आउने छ । ती मल आएसँगै किसानले राहत पाउनेछन् ।
विराटनगर, वीरगंज र भैरहवा कार्यालयबाट नेपालको पहाडी तथा दुर्गम जिल्लाहरूमा मल आपूर्ति एवं ढुवानी हुँदै आएको छ । वीरगंज कार्यालयले मधेस प्रदेशको ८ जिल्ला, बागमती र गण्डकी प्रदेशमा मल पठाउने गरेको मधेस प्रदेश वीरगंज कार्यालय प्रमुख लामिछानेको भनाइ छ ।
साल्ट ट्रेडिङले रासायनिक मल आइपिएल इन्डिया र दुबईको विल्सन कम्पनीबाट खरीद गरेको जनाएको छ । साल्ट ट्रेडिङले भित्र्याएको कुल मलमध्ये ८४ हजार मेट्रिक टन नेपाल सरकारको कृषि मन्त्रालयको कोटाबाट पाएको थियो भने ग्लोबल टेन्डरअन्तर्गत फास्ट ट्रयाकबाट ४७ हजार मेट्रिक टन ल्याउने जिम्मा पाएको थियो ।
अहिले युरियाको प्रतिबोरा ७५० रुपैयाँ, डिएपीको २२ सय, पोटासको १६ सय रुपैयाँ सरकारी दरमा वितरण भइरहेको छ ।
सहकारीबाट वितरण हुने मलमा ठाउँ अनुसारको सहकारीले आफनो यातायात र सेवा शुल्क जोडेर बोरामा ५० देखि दुई सय रुपैयाँसम्म बढी लिने गरेको छ ।











