इस्लामावाद । अन्तर्राष्ट्रिय गान्धारा सिम्पोजियममा सहभागी हुन इस्लामाबाद आएका लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. ह्रदयरत्न बज्राचार्य, नेपाली बौद्ध बिहारका संघनायक भिक्षु कौदन्य र कपन गुम्बाका लामा थिन्ले कुन्चकको उपस्थितिमा बिहीबार इस्लामाबादमा स्वागत तथा अन्तक्रिया कार्यक्रम आयोजना गरिएको छ ।

उक्त कार्यक्रममा इस्लामाबादमा रहेका नेपाली समुदाय, बौद्ध धर्मदर्शनमा चाख राख्ने पाकिस्तानी र अन्य मुलुकका व्यक्तिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा नेपालबाट आएका गुरूहरूलाई स्वागत गर्दै पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले बौद्ध दर्शनका अहिंसा, दया, करूणा, समभाव एवं सम्यक ध्यान जस्ता शास्वत मान्यताहरू मानव जीवनउपयोगी भएकोले बौद्ध धर्मदर्शनको समसामयिकता र सर्वस्वीकार्यता रहेको विषयमा प्रकाश पारेका थिए ।
पाकिस्तान सरकारले गान्धारा सभ्यतालाई संरक्षण गर्दै पर्यटन प्रवद्धन गर्ने नीति लिएको परिप्रेक्षमा गान्धारा सभ्यता र नेपाली संस्कृतिबीच अटुट सम्बन्ध रहेकोले यसले नेपाल–पाकिस्तान सम्बन्धलाई थप प्रगाढ बनाउने विचार व्यक्त गरे ।
भगवान बुद्धको जन्मभूमी लुम्बिनी, नियमित धार्मिक एवं अध्यात्मिक क्रियाकलाप भइरहेका हजारौं बर्ष पुराना बौद्ध महाबिहार, बिहार, बहि, चैत्य एवं गुम्बाहरू आदि भएको कारणले नेपाल बौद्ध धर्मदर्शन, अध्यात्मको केन्द्रका रूपमा रहेको र बौद्ध धर्मावलम्बी एवं शान्तिमा विश्वास राख्ने अन्य समुदायको लागि पनि प्रमुख तीर्थ एवं आध्यात्मिक गन्तव्यका रूपमा रहेको बताए ।
साथै, बौद्ध दर्शनका थेरवादा, महायाना एवं बज्रयाना गरी तीनै प्रमुख धारको तीर्थस्थल समेत नेपाल रहेको कारण हिमाली दर्शनको अध्येताहरूका लागि पनि नेपाल केन्द्रको रूपमा रहेको उनले बताए ।
प्राचिन उदियाना एवं हाल पाकिस्तानको स्वात उपत्यकामा जन्मिएका गुरू पद्मसम्भव वा गुरू रिम्पोचेले नेपालका विभिन्न स्थानमा ध्यानतपस्या गरेका स्थानहरू अझैपनि नेपालमा आध्यात्मिक केन्द्रका रूपमा रहेका छन् ।
बौद्ध साहित्यमा तक्षशीला एवं गान्धाराको ठूलो महत्व रहेको हुनाले यसको थप संरक्षण र प्रबर्द्धन भएमा उक्त क्षेत्र नेपाललगायत अन्य मुलुकका बौद्ध धर्मावलम्बी एवं यसमा चाख राख्नेहरूका लागि प्रमुख गन्तव्य बन्न सक्ने विचार व्यक्त गरे ।
्उक्त कार्यक्रममा प्रा. बज्राचार्य, भिक्षु कौदन्य एवं लामा कुन्चकले बौद्ध धर्म दर्शनका विभिन्न पक्षमा प्रकाश पार्नुका साथै सहभागीबाट सोधिएका जिज्ञासाहरूको उत्तर दिएका थिए ।














