Logo
Logo

फेरि फोहरी खेल ?


- शम्भु श्रेष्ठ


  • शम्भु श्रेष्ठ

बिपी र पुष्पलालले के का लागि अलग–अलग धारको राजनीतिक पार्टी स्थापना गरे भन्ने कुराको सैद्धान्तिक आधारहरु छन् । बिपी र पुष्पलालले जुन मूल्य र मान्यताका आधारमा पार्टी स्थापना गरेका थिए, ती पार्टीहरु आज विचारशून्य अवस्थामा पुगेका छन् । न कम्युनिष्टमा पुष्पलालको जस्तो सिद्धान्त, विचार, आचरण, अनुशासन र चरित्र छ, न त कांग्रेसका नेताहरुमै । राजनीतिक पार्टीलाई ती दलका नेता कार्यकर्ताहरुले ‘लुटी खाने भाँडो’ बनाएका छन् । कम्युनिष्ट वा कांग्रेस पार्टीका नेताहरु आफूलाई जनताभन्दा माथि राजा महाराजाजस्तो ठान्न थालेका छन् । चाहे नेकपाका अध्यक्ष हुन् वा कांग्रेसका सभापतिले विधि, विधानभन्दा माथि बसेर पार्टी हाँकेका छन् । जसका कारण हरेक पार्टीभित्र गुट, उपगुटका नाममा अराजकता मौलाउँदै गएको छ ।

शम्भु श्रेष्ठ

त्यही अराजकताको कारण नेकपा स्थायी समितिको बैठक एक वर्षपछि बस्यो । त्यो एक वर्षभित्र गरिनुपर्ने कामको समीक्षा अहिले आएर गरिँदैछ । यदि, नेकपाको स्थायी समितिको बैठक विधानले तोकेबमोजिम बसेको भए इण्डो प्यासिफिक प्रकरणमा सिंगो पार्टी अलमलिनुपर्ने थिएन । उतिबेलै छिनोफानो भइसक्थ्यो र पार्टीले गर्ने हरेक निर्णय पारदर्शी हुन्थ्यो । बैठकमा नेताहरुको असन्तुष्टि कम उत्साह बढी हुन्थ्यो । हरेक निर्णयमा सहमतिको वातावरण बन्थ्यो । अहिले बसेको स्थायी समितिको बैठकमा नेताहरुबीच आरोप–प्रत्यारोप चलिरहेको छ । एकले अर्कोलाई घोचपेच गरिरहेका छन् । मानौ, नेकपाको स्थायी समितिको बैठकमा एउटै विचार बोक्नेहरु मात्र सहभागी छैनन्, त्यहाँ अन्य विचार बोक्ने नेताहरु पनि सहभागी छन् ।

एमाले र माओवादी एक भएपछि यो पार्टीमाथि जनताको ठूलो आड भरोसा छ । त्यसैले तिनै तहको निर्वाचनमा जनताले नेकपालाई झण्डै दुईतिहाइको बहुमत दियो । त्यसको अनुभूति सत्तामा बस्नेहरुले मज्जैसँग गरेका छन् । जनताले भने अनुभूति गर्न पाएका छैनन् । त्यसको केही झिल्का उपनिर्वाचनको परिणामले पनि दिएको छ । जनताले नेकपालाई बहुमत दिए पनि त्यो बहुमतले नेकपाको पेट भरिएको छैन । उपेन्द्र यादवको पार्टीलाई संविधान संशोधनको शर्तसहित उपप्रधानमन्त्रीको पद दिइएको छ । अब हुने राष्ट्रियसभाको निर्वाचनमा राजपाका अध्यक्ष राजेन्द्र महतोलाई बालुवाटारमा बोलाएर दुई बुँदे सहमति गरिएको छ । संविधानसभा सदस्यको दुई सिट जित्नका लागि मात्रै यो सहकार्य गरिएको हो कि, दीर्घकालसम्म नै सहयात्रा गर्न यो सहमति भएको हो भन्ने कुरा नेकपाका अध्यक्षद्वय र राजपाका महतोलेबाहेक अन्यलाई थाहा छैन । नेकपा स्थायी समितिको बैठक चल्दै गर्दा राष्ट्रियसभाको निर्वाचनका विषयमा छलफल हुनुपर्ने हो । तर, लुसुक्क अध्यक्षद्वयले राजापसँग सहमति गरेर स्थायी समितिलाई जानकारी मात्र दिइयो । यस घटनाले पनि के देखाउँछ भने नेकपा जतिसुकै ठूलो पार्टी भए पनि त्यो पार्टी विधिसम्मत ढंगले चलेको छैन । व्यक्तिकै हठ र हैकममा नेकपा हाँक्न खोजिएको छ । यसले कुनै पनि दिन दुर्घटना निम्त्याउँछ भन्नेतिर नेकपाका नेताहरुको ध्यान गएको छैन ।

राजनीति फोहरी खेल हो भन्ने कुरामा कम्युनिष्टहरुले पनि विश्वास गर्ने हो भने मेरो भन्नु केही छैन । तर, कम्युनिष्ट पार्टी एउटा निश्चित सिद्धान्त, विचार र चरित्रबाट चल्ने पार्टी हो भने, गैरकम्युनिष्ट अवसरवादीहरुलाई मन्त्री बनाउने, प्रतिक्रियावादीहरुलाई सांसद बनाउने र विखण्डनकारीहरुसँग सहमति गर्ने निर्णय गर्नुभन्दा अगाडि दश पटक सोच्नुपर्ने हो । तत्कालीन नेकपा एमालेतिर फर्केर हेर्ने हो भने, लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाएर लोकतन्त्रलाई कमजोर बनाउने नेकपाका नेताहरु अहिले पनि जिउँदै छन् । जननेता मदन भण्डारीले भनेझै विगतबाट पाठ नसिक्ने हो भने व्यक्ति जतिसुकै ठूलो पदमा पुगे पनि उसले देश र पार्टीलाई सही ढंगले हाँक्न सक्दैन । यो कुरालाई नेकपाले समयमै मनन गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्