Logo
Logo

ट्वीटर चलाउन नजान्ने पनि सल्लाहकार


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ८ पुस । सल्लाहकारका कारण प्रधानमन्त्री केपी शर्मा ओली बदनाम हुने क्रम रोकिएको छैन । गत शुक्रबार प्रधानमन्त्रीको ट्वीटर अकाउन्टबाट कांग्रेसआईकी अध्यक्ष सोनिया गान्धीले नरेन्द्र मोदी सरकारको आलोचना गरेको भिडियो रिट्वीट भएपछि अन्तर्राष्ट्रिउ जगतमा प्रधानमन्त्रीको बेइज्जती मात्र भएको छैन, कुटनीतिकरूपमा समेत प्रधानमन्त्री अफ्ठेरोमा परेका छन् ।

प्रधानमन्त्रीका सल्लाहकारहरुले ट्वीटरको पासवोर्ड दुरुपयोग गरेको र त्यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको भनेर आफ्नो कमजोरीलाई ढाकछोप गर्ने प्रयास सल्लाहकारहरुले गरिरहेका छन् । तर, यो घटनाले प्रधानमन्त्रीको सचिवालयमा रहेका व्यक्तिहरुको क्षमता र मानसिकता भने छताछुल्ला पारिदिएको छ ।

स्रोतका अनुसार त्यो विषयमा प्रहरीले अनुसन्धान नै गरिरहेको छैन । किनकि त्यो ह्याकिङको घटना थिएन । प्रधानमन्त्रीकै सचिवालय टिमका व्यक्तिले प्रधानमन्त्रीको अकाउन्टबाट रिट्वीट गर्दा त्यस्तो गल्ती भएको स्रोत बताउँछ । त्यसकारण त्यो प्रहरीले छानबिन गर्नुपर्ने विषय नै होइन ।

प्रधानमन्त्रीको ट्वीटर अकाउन्ट भेरिफाइड छ । यस्ता अकाउन्ट हत्तपत्त ह्याक हुन सक्दैन । ह्याक भए पनि एउटा रिट्वीट गरेर त्यही पासवोर्ड कायम राख्ने सम्भावना छैन । त्यसकारण यस घटनामा सल्लाहकारहरुको बदमासी भएको प्रष्ट छ । स्रोतका अनुसार प्रधानमन्त्रीको ट्वीटरको पासवोर्ड विष्णु रिमाल, सूर्य थापा र रामशरण बजगाईंलाई मात्र थाहा छ । उनीहरुमध्येबाटै बदमासी भएको प्रहरी स्रोतले बताएको छ । व्यक्तिगत वा फेक अकाउन्टबाट उनीहरुले त्यस्तो रिट्वीट गर्दा प्रधानमन्त्रीको ह्यान्डलबाट हुन गएको आशंका गरिएको छ ।

प्रधानमन्त्रीको टिम आइटीविज्ञका रुपमा अलीअसगरसमेत छन् । आइटीविज्ञ भएकै व्यक्ति प्रधानमन्त्रीको ट्वीटर चलाउन नसक्ने सहयोगीहरु छन्, जसले एकपछि अर्काे गर्दै प्रधानमन्त्रीलाई तनाव दिने काम गरिरहेका छन् ।

यो घटनाले कूटनीतिक वृत्तमा समेत तरंग ल्याएको छ । किनकि प्रधानमन्त्रीको टिमकै व्यक्ति छिमेकी मुलुकका प्रधानमन्त्रीविरोधी भएको यो घटनाले प्रष्ट पारेको छ । जुन विषयमा भारतीय मिडियामा समेत समाचार आइसकेको छ ।

खासगरी प्रेस सल्लाहकार सूर्य थापाका कारण प्रधानमन्त्री समस्यामा पर्दै आएका छन् । प्रधानमन्त्रीको सल्लाहकारको जिम्मेवारीमा रहेर पार्टी अध्यक्ष प्रचण्डलाई सामाजिक सञ्जालमा गाली गरेका कारण प्रधानमन्त्रीलाई नै समस्या भएको थियो । जुन प्रकरणमा प्रधानमन्त्रीले उनलाई सचेत गराएका थिए । आइतबार मिडियासँग बोलेको भन्दै उनले नेता भीम रावलको सामाजिक सञ्जालमा गाली गरेका छन् । बालुवाटार स्रोतका अनुसार पछिल्लो घटना पनि थापाकै कारण घटेको हो ।

प्रतिक्रिया दिनुहोस्