Logo
Logo

चमेलिया-स्याउले-अत्तरिया प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालन


756
Shares

काठमाडौं दार्चुला र बझाङका नदी करिडोरमा उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न निर्माण भएको चमेलिया–स्याउले–अत्तरिया एक सय ३२ केभी प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा आएको छ ।

दार्चुलाको शैल्यशिखर नगरपालिकाको बलाँचबाट सुरु भई बैतडी, डडेल्धुरा, डोटी हुँदै कैलालीको गोदावरी नगरपालिकास्थित अत्तरिया सबस्टेसनमा अन्त्य हुने एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा ल्याइएको हो। प्रसारण लाइनको लम्बाइ एक सय ३१ किलोमिटर छ।

नेपाल विद्युत् प्राधिकरणले दार्चुलामा निर्माण गरेको ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाले बनाएको प्रसारण लाइनको पहिलो सर्किट ०७३ देखि सञ्चालनमा थियो।

कोरियाली एक्जिम बैंकको सहुलियतपूर्ण ऋणमा डबल सर्किट हुने गरी प्रसारण लाइनका टावर संरचनाहरू बनाइएकामा आयोजनाले एउटा मात्र सर्किट निर्माण गरी सञ्चालनमा ल्याएको थियो। नेपाल सरकारको करिब रु. ६० करोड लगानीमा दोस्रो सर्किट निर्माण गरी उक्त लाइन सञ्चालनमा ल्याइएको हो।

त्यस क्षेत्रमा निर्माण भएका र निर्माण हुने जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि एउटा सर्किटले मात्र नधान्ने भएपछि अर्को सर्किट थपिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।

अब त्यस क्षेत्रमा उत्पादित दुई सय ५० मेगावाटसम्म विद्युत् प्रवाहका लागि पूर्वाधार तयार भएको छ । त्यहाँ उत्पादित विद्युत् स्थानीय रूपमा आपूर्ति हुँदा बाँके जिल्लाको कोहलपुर र पश्चिम क्षेत्रमा भोल्टेजमा सुधार हुने भएको छ ।

चमेलिया–स्याउले–अत्तरिया एक सय ३२ केभी प्रसारण लाइनमा अहिले प्राधिकरण र निजी क्षेत्रले निर्माण गरेका आयोजनाको करिब एक सय १० मेगावाट विद्युत् जोडिएको छ। निजी क्षेत्रका आयोजनाको ५० मेगावाट विद्युत् जोडिने क्रममा छ।

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा विद्युत् आपूर्ति नियमित र भरपर्दो बनाउन डडेल्धुराको स्याउलेमा एक सय ३२–३३ केभी सबस्टेसन सञ्चालित छ।

बलाँच सबस्टेसनबाट आएको विद्युत् स्याउले सबस्टेसनबाट डडेल्धुरा, दार्चुला, डोटी, बैतडी र अछाममा आपूर्ति गरिएको छ । त्यस क्षेत्रमा करिब ६ मेगावाट विद्युत् खपत हुन्छ।

स्याउले सबस्टेसनबाट स्थानीय रूपमा विद्युत् आपूर्ति गरी बाँकी रहेको विद्युत् अत्तरिया सबस्टेसनमा ल्याई राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ। कोहलपुरबाट पश्चिम क्षेत्रको विद्युत् माग जाडो र गर्मीमा क्रमशः करिब ८० र दुई सय मेगावाट हुन्छ।

चमेलिया–स्याउले–अत्तरिया एक सय ३२ केभी प्रसारण लाइनको दोस्रो सर्किटको आयोजना आर्थिक वर्ष ०७४÷७५ देखि सुरु गरिएको थियो। कोभिड–१९ महामारी र विगतमा मुआब्जा तथा क्षतिपूर्ति लिइसकेका डडेल्धुरा तथा दार्चुला जिल्लाका केही स्थानीयवासीले दोस्रो सर्किटको तार तान्न अवरोध गर्दा काममा केही ढिलाइ भएको आयोजना प्रमुख अनिल अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्