काठमाडौं । जनमत पार्टीले केन्द्रीय समिति विस्तार गरेको छ । बिहीबार साँझ बसेको पार्टीको सचिवालय बैठकले केन्द्रीय समिति विस्तार गरेको हो । बैठकले १७ सदस्यीय सचिवालय, ३९ सदस्यीय कार्यकारिणी समिति, १४ सदस्यीय राजनीतिक समिति र २१६ जनाको केन्द्रीय समिति बनाउने निर्णय गरेको हो ।

पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादवका अनुसार केन्द्रीय समितिमा अधिकांश नयाँ सदस्य रहेका छन् । यसअघि केन्द्रीय समितिमा रहेका केहीलाई भने सचिवालयमा तानिएको छ ।
पार्टीको विधानअनुसार ३५१ सदस्यीय केन्द्रीय समिति बनाउनुपर्नेमा तत्काल २१६ सदस्यीय केन्द्रीय समिति बनाइएको जनमतले जनाएको छ ।
पछिल्लो समय जनता समाजवादी (जसपा) त्यागेर जनमतमा प्रवेश गरेका नेताहरुलाई केन्द्रीय समितिमा समेटिएको छ । जसपाबाट जनमतमा प्रवेश गरेका नरसिंह चौधरीलाई उपाध्यक्ष बनाइएको छ भने लोसपाबाट प्रवेश गरेका डा.शरदसिंह यादव सचिवालयमा परेका छन् । यादवलाई प्रवक्ताको समेत जिम्मेवारी दिइएको छ ।











