Logo
Logo
सम्झना

एउटा कथाजस्ताे रोबिन तामाङ



उनी सधैं भन्ने गर्थे, ‘जीन्दगी रक्स हुनुपर्छ’ । करिब १५/१६ वर्षअघि हुनसक्छ, यो लेखकसँग भनेको कुरा स्मरण ताजै छ । उनले भनेका थिए, ‘यु ह्याभ टु लभ योरसेल्फ अर्थात आफूले आफैँलाई माया गर्नुपर्छ ।’ अनि उनी आफूले आफैँलाई माया गर्थे । नेपाली एकदमै कम बोल्थे उनी । तर, कोशिस गरिरहन्थे ।

‘रकस्टार’ रोबिन तामाङ हामीमाझ छैनन् । तर, उनी सधैं हाम्रो सम्झनामा रहिरहने छन् । रक संगीतका ‘क्रान्ति नायक’का रुपमा चिनिएका रोबिन यो साता बुढानिलकण्ठस्थित आफ्नै निवासमा मृत भेटिए । जसले लाखौँ रक संगीतप्रेमी मर्माहित भए । साथै, नेपाली गीतसंगीत क्षेत्रलाई अतुलनीय क्षति पुगेको छ ।

प्रारम्भिक ‘रोबिन एण्ड लुजाः’ र त्यसपछि ‘रोबिन एण्ड न्यू रिभुलेशन’बाट रोबिनले रक गायनमा यस्तो क्रान्ति ल्याए, जुन रक संगीतके इतिहासले भूूल्ने छैन । नेपाली श्रोता पश्चिमा रक, पप र ह्याभिमेन्टल संगीतमा भर्खरै रुमल्लिन थाल्दा रोबिनको उदय भएको थियो ।

‘गन एण्ड रोज’, ‘मेटालिका’, ‘लिङकिङ पार्क’, ‘इगल’, ‘विटल्स’ र ‘बोन जोवी’जस्ता चर्चित ह्याभिमेन्टल रक ब्याण्डहरुको नेपाली श्रोता आकर्षित भइरहेका बेला रोबिन नेपाली सांगीतिक क्षेत्रमा रक गायनमा क्रान्ति ल्याउन लागिपरेका थिए । अंग्रेजी रक ब्याण्डहरूकै प्रभावमा त्यो समय नेपालमा थुप्रै ब्याण्डहरू जन्मिएका थिए । तर, तीमध्ये धेरैजसो टिकेनन् । कतिपय ब्याण्डहरू आपसी मतभेदका कारण लोकप्रियता हासिल गर्दागर्दै पनि लथालिङ्ग भए ।

नेपाली सांगीतिक क्षेत्रमा लोकभन्दा रक तथा ह्याभिमेन्टल ब्याण्डहरु लामो समय टिक्न सफल भए । ‘कभवेव’, ‘१९७४ एडी’ र ‘रोबिन एण्ड न्यु रिभुलेशन’ यसका उदाहरण हुन् । ‘कभवेव’लाई अझै दर्शक÷श्रोताले रुचाउँदै आएका छन् ।

त्यसबाहेक ‘रोबिन एण्ड न्यु रिभुलेशन’ नै होे, जसले सुरुदेखि दर्शक तथा श्रोतामाझ खिल गाड्न सफल हुँदै आयो । कुनै समय ‘मुक्ति एण्ड रिवाइवल’ र ‘द एक्स ब्याण्ड’ले पनि राम्र्रै चर्चा पाएका थिए ।

लोक ब्याण्डहरूमा ‘मंगोलियन हार्ट’ र ‘नेपथ्य’ अहिले पनि चलिरहेका छन् । तर, कुनै समय चर्चामा आएका ‘कन्दरा’ र ‘देउराली’जस्ता ब्याण्डहरू तित्तरवित्तर भइसकेका छन् । जतिखेर ब्याण्ड खोल्ने लहर चलेको थियो, त्यो समय ब्याण्ड कम्पिटिशनहरू पनि हुन्थ्यो । जुन समय नेपालमा दुई दर्जनभन्दा बढी ब्याण्डहरू जन्मिए ।

सन् २००७ को अन्त्यतिर हुनुपर्छ, काठमाडौंको टुँडिखेलमा प्रस्तुत भएका बृाल रोबिन तामाङले डेनी डेनजोङ्पाको ‘चिसो चिसो हावामा’, ओमविक्रम विष्टको ‘म मौनतामा अल्झिरहेको’जस्ता कभर गीत सुनाएका थिए । त्यो बेला कभर गाउने चलन भर्खरै सुरु हुँदैथियो ।

प्रस्तुती दिइसकेपछि ‘ब्याकस्टेज’मा आएर उनले भनेका थिए, ‘सिंगिङ, ड्रिकिङ एण्ड रिजोइसिङ आर अल्दोज् लाईफस्टाइल’ अर्थात गाउने, पिउने र रमाउने यी सबै जीवनशैली हुन् ।

म आफैँ पनि रक संगीतको फ्यान थिए । अहिले पनि समय मिलेमा सेन्टिमेन्टलभन्दा रक नै सुन्न रुचाउँछु । रोबिनको उक्त भनाइले म झनै प्रभावित भएँ । त्यही दिनदेखि ‘रोबिन एण्ड न्यु रिभुलेशन’का प्रायः प्रस्तुतीहरू छुटाउँदिन थिएँ ।

औपचारिक वा अनौपचारिक भेटमा पनि रोबिनसँग भन्थेँ ‘तपाइँको गायनमात्र होेइन, ज्यान नै रक्स छ । म फिल्मकर्र्मी भएको भए, तपाइँकै बारेमा फिल्म बनाउँथे ।’ त्यखिखेरै रोबिनले भनेका थिए, ‘जीन्दगी रक्स छ’ । जुन सुरुमै उल्लेख गरेको छु ।

अनुहारभरि ‘पियर्सिङ’ ६ फिटे भीमकाय ज्यान भएका ‘फेसन आइकन’ रोबिनलाई सुरुमा देख्नेहरू ‘विदेशी’ भनेर झुक्किन्थे । प्रायः कालो ब्याग, कालो ज्याकेट र कालो जिन्समा देखिने रोबिन खासमा रकस्टारमात्र थिएनन्, उनी कुसल अभिनेता पनि थिए । यही उनको रकिङ जीवनशैली मलाई मन पथ्र्यो । त्यसैले काम नभएपनि उनलाई भेट्न म उत्सुक हुन्थेँ । तर, मौका विरलैमात्र मिल्थ्यो ।

नेपाली रक संगीतमा तीन दशकभन्दा बढी राज गरेका रोबिनसँग मेरो दुई दशककोे पत्रकारिता यात्रामा औपचारिक रुपमा तीनपटक मात्र कुुरा गर्ने मौका पाएँ । तर, अनौपचारिक कुराकानीबाट उनलाई नजिकबाट बुझ्ने अवसर मिल्यो ।

अन्तर्मुखी रकस्टार रोबिन
रकस्टार रोबिन आवश्यकताभन्दा बढी अन्तर्मुखी थिए । उनी संगीत र अभिनय क्षेत्रकै धेरैजसो मानिससँग ‘हाईहेलो’मात्रै गर्थे उनको अन्तरंग सम्बन्ध सीमितसँग मात्रै हुन्थ्यो । यी रकस्टार बारम्बार फोन हराउँथे । त्यसैले महँगो फोन बोक्दैनथे ।

सन् १९६३ मा सिंगापुरमा जन्मिएका रोबिनको जीवन आफैंमा एउटा कथाजस्तो छ । उनका बुबा ब्रिटिश आर्मीका मेजर थिए, आमा नर्स । बुबा तामाङ र आमा छेत्री । बुबाआमाको अन्तरजातीय भागी विवाह भएकाले घरपरिवारसँग खासै सम्बन्ध थिएन ।

रोबिनले हङकङ र बु्रनाईमा पढेका थिए । उनको भनाइअनुसार उनी बाल्यकालमै जिमी हेन्ड्रिक्स, ‘डीप पर्पल’जस्ता ब्याण्डको प्रभावमा परेर संगीतको लतमा परेका थिए ।

सन् १९९६ मा मात्र तीन महिनाका लागि भनेर नेपाल आएका थिए उनी । तर, उनलाई संगीतप्रति मोह र सपनाले यसरी लठ्यायो कि उनी क्यानडा फर्किएनन् । त्यसपछि पोखरामा भेटिएका लूजः ब्यान्डसँग सहकार्य गरेर ‘रविन एन्ड लूजः ब्याण्डमा मिसिएका थिए ।

ब्यान्ड खोलेको एक वर्षमै रोबिनले अरुण थापाको ‘जति माया लाए पनि’, डेनी डेनजोङ्पाको ‘चिसो चिसो हावामा’, ओमविक्रम विष्टको ‘म मौनतामा अल्झिरहेको’ आदिको कभर गीत गाए । सन् २००० मा आएको उनको त्यो पहिलो एल्बम सुपरहिट भयो ।

‘रक एण्ड रोल’को कुनै स्वाद नभएको ठाउँमा ‘करिअर’ थालनी गरेका उनी त्यो समय ‘कववेव’, एक्स ब्यान्ड’, ‘नमस्ते’, ‘१९७४ एडी’ आदि ब्यान्डसँगै संघर्षमा हेलिएका थिए । ६ दर्जनभन्दा बढी नेपाली गीत गाएका रोबिन नेपाली लेख्न जान्दैनथिए । उनी नेपाली पनि कमैमात्र बोल्थे । तैपनि उनले अंग्रेजीमा गाउने थुप्रै प्रतिभालाई नेपालीमा गाउन हौस्याए ।

रक गायनमा जम्दै गर्दा ‘रोबिन एण्ड लूजः’बाट उनी छुट्टिएका थिए । त्यसपछि बनेको थियो ‘रोबिन एन्ड न्यू रेभुलेशन’ । त्यसपछि उनले गाएको ‘केटाकेटी’ सुपरहिट बन्यो । उनी संगीतलाई जीवन ठान्थे । र, भन्थे, ‘मेरो जीन्दगी नै संगीत हो, त्यसमा पनि रकिङ ।’ संगीतमै रमाउन उनले ठमेलमा ‘ब्याम्बो क्लब’समेत खोलेका थिए ।

सन् २००९ देखि २०१५ सम्म आइपुग्दा युवापुस्ता उनको पञ्जामा परिसकेका थिए । हजारौं उनका ‘डाइहार्ड फ्यान’ उनी जहाँ जान्थे, त्यहाँ पुग्थे । रोबिनको ब्यान्डमा श्याम महर्जन (बेस प्लेयर), सनम श्रेष्ठ (ड्रमर) र दीपेश सिंह (लिड गिटारिस्ट) थिए । भोकल र रिदम गितारको मोर्चा आफैं सम्हाल्थे ।

रक संगीतलाई मूलधारमा ल्याउने रोबिनका गीत माया र प्रेमभन्दा पनि जीवनका घटना, सामाजिक परिस्थिति र राजनीतिसँग जोडिएका छन् । जस्तै, ‘केटाकेटी’, ‘मुगलान’, ‘माइला भाइ’, ‘स्वतन्त्र जीवन’ आदि ।

पछिल्लो समय उनी फिल्ममा पनि देखिए । विसं २०६७ मा रिलिज भएको छड्केमा उनी ग्याङस्टरका भूमिकामा देखिएका थिए । त्यसपछि ‘मुखौटा’, ‘वान वे’, ‘मेरो पैसा खै’ ‘कमान्डर’, ‘चिसो एस्ट्रे’जस्ता फिल्ममा अभिनय गरे । रोबिनले फ्रान्सकी हेलेनसँग विवाह गरेका थिए । उनीहरूका दुई छोरी छन्रू तारा र जाड । उनीहरू फ्रान्समै बस्छन् ।

रोबिनले गाएको अन्तिम गीत हो, ‘धुवाँ’ । जुन गीत आइतबार सार्र्वजनिक गरिएको छ । ‘जिन्दगीलाई धुुवाँमा नउडाउन’ भन्ने सन्देश बोकेको उक्त गीत रोबिनको सम्मान र श्रद्धाञ्जलीका लागि भन्दै सार्वजनिक गरिएको थियो ।

दिवंगत रोबिनको तामाङ संस्कारअनुसार स्वयम्भुमा अन्त्येष्टि गरिएको छ । संचारमन्त्री रेखा शर्मा र पर्यटनमन्त्री सुदन किराँतीले रोबिनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओडाएर सम्मान गरेका थिए । त्यसअघि रोबिनलाई श्रद्धाञ्जली अर्पण गर्न नेपाली कांग्रेसका नेता गगन थापासहित कलाकार र उनका शुभेच्छुक नक्साल पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्