काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक जारी छ । पार्टी संगठनात्मक कामको अवस्था र समसामयिक पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्न च्यासलस्थित पार्टी मुख्यालयमा बैठक बसिरहेको हो ।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा राजनीतिक विकासक्रमको समीक्षा, कार्यविभाजनअनुसार कामको मूल्यांकन, पार्टी स्कुल विभाग तथा पार्टी प्रचार र जनसंगठनको कामको अवस्थाबारे छलफल हुने छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्षहरूसँग छलफल गरेपश्चात सचिवालय बैठक बोलाइएको हो । एमालेले केन्द्रीय कमिटीका पदाधिकारी एवं सदस्यहरूको फरक भूगोलमा कार्य विभाजन गरेर काम गरिरहेको छ ।
केन्द्रीय कमिटीको बैठकमा प्राप्त सुझावका आधारमा केन्द्रीय सचिवालय बैठकले केन्द्रीय कमिटीका पदाधिकारी एवं सदस्यहरुको कार्यविभाजनमा व्यापक हेरफेर गरेको हो ।
एमालेले सदस्यता शुद्धीकरण, नवीकरण, विस्तार र तथ्यांक शुद्धीकरणको अभियानसमेत सञ्चालन गरेको छ । आजको सचिवालय बैठकमा केन्द्रीय कमिटीका नेताको कार्य विभाजन पछिको प्रभावकारिताको प्रारम्भिक समीक्षा र उपलब्धिका विषयमा छलफल हुने बताइएको छ ।











